काठमाडौं। बृहत रक्तदानसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरी गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ।
बैंकले आज देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको हो। विकास बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ।
विकास बैंकले वार्षिकोत्सवको अवसरमा आज देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ।
त्यसैगरी 'स्वस्थ जीवनशैलीका लागि खेलकुद' भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेसअन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेस, २०८२ सम्पन्न गरेको छ। जसमा एक हजारभन्दा बढी धावकहरुको सहभागिता रहेको थियो।
विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई आगामी दिनमा समेत प्राथमिकतामा राखेर निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।
बैंकले यस यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय र कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेको छ।