काठमाडौं। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स (युएई)स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ।
माछापुच्छ्रे बैंकले युएईमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो।
रेमिट्यान्ससम्बन्धी उक्त सम्झौता पत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे।
उक्त सम्झौतापछि अब युएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबिएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिने छ।
साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबिएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ।
स्थापना कालदेखि नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखा, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरुमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सुविधा प्रदान गरिरहेको छ।