काठमाडौं। नेपाल राष्ट्र बैंकले मुद्रास्फिती मापन गर्ने प्रमुख सूचक उपभोक्ता मूल्य सूचकांकको आधार सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले एक वर्षअघि तयार गरेर कार्यान्वयनमा ल्याएको उपभोक्ता मूल्य सूचकांक निर्माणको विस्तृत आधार अहिले सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले २०८१ असोजमा मुद्रास्फिती गणनाको नयाँ आधार वर्ष २०८०/८१ तयार गरेर सोहीअनुसार शोधानान्तर स्थितिको नयाँ गणना विधि ब्यालेन्स अफ पेमेन्ट म्यानुअल (बिपिएम६) सार्वजनिक गरिसकेको छ भने, तयार भएको आधार वर्षअनुसार उपभोक्ता मुद्रास्फितीको तथ्यांक संकलन गरी सोहीअनुसार गणनासमेत गरिरहेको छ।
२०८१ असोजयता महिना राष्ट्र बैंकले यही आधारमा उपभोक्ता मूल्य सूचकांक तयार गरी सार्वजनिक गरिरहेको छ। सोअघिसम्म राष्ट्र बैंकले २०१४/१५ लाई आधार वर्ष बनाएर उपभोक्ता मूल्य सूचकांक गणना गरी रिपोर्ट सार्वजनिक गर्ने गरेको थियो।
एक वर्ष पहिले सुरु गरिएको मुद्रास्फिती मापन गर्ने प्रमुख सूचक उपभोक्ता मूल्य सूचकांकको आधारबारे विभिन्न सरोकारवाला पक्षबाट सोधिएपछि रिपोर्ट सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. राम सरण खरेलले बताए।
रिपोर्टका अनुसार राष्ट्र बैंकले देशको मुद्रास्फिती मापन गर्ने प्रमुख सूचक उपभोक्ता मूल्य सूचकांकमा छैठौँ पटक व्यापक संशोधन गरी नयाँ शृङ्खला सार्वजनिक गरेको हो।
सन् १९७३/७४ बाट मूल्य सूचकांक प्रकाशन गर्न थालेको राष्ट्र बैंकले यस पटक सन् २०२३/२४ (२०८०/८१) लाई नयाँ आधार वर्ष बनाएको छ। यो सुधारले क्रय शक्ति र समष्टिगत आर्थिक स्थिरताको मूल्याङ्कनलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
यस संशोधनले सिपिआई गणना पद्धतिलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूसँग पूर्ण रूपमा मिलाएको छ। पहिले प्रयोग गरिएको भारित ज्यामितीय लासपेयर्स विधिको सट्टा अहिले ‘भारित अंक गणितीय संशोधित लासपेयर्स औसत विधि’ प्रयोग गरिएको छ। प्रारम्भिक सूचकांकका लागि भने ज्यामितीय माध्य कायमै छ।
यस्तै, खर्च भार निर्धारण गर्नका लागि राष्ट्र बैंकले पहिलो पटक राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित चौथो नेपाल जीवन्त स्तर सर्वेक्षणको तथ्याङ्क प्रयोग गरेको छ। यसले गर्दा तथ्याङ्कको स्रोतमा एकरूपता आएको छ र स्रोतको दोहोरोपना हटेको छ।
सिपिआईको कभरेजलाई पहिलेको सीमित क्षेत्रबाट बढाएर देशका सबै ७७ वटै जिल्लाहरूका ८७ बजार केन्द्रहरूमा विस्तार गरिएको छ। नयाँ सिपिआई बास्केटले बदलिँदो उपभोग ढाँचालाई स्पष्ट रूपमा देखाएको छ। ५२५ वस्तुहरूलाई २४९ वस्तु समूहमा वर्गीकृत गरिएको छ।
जसमा आम नेपालीहरूको खर्चमा खाद्य तथा पेय पदार्थ वर्गको भार ४३.९१ प्रतिशतबाट घटेर ३५.४९ प्रतिशत भएको छ। यसको विपरीत, गैरखाद्य तथा सेवाहरूको भार ५६.०९ प्रतिशतबाट बढेर ६४.५१ प्रतिशत पुगेको छ। यसले शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवामूलक क्षेत्रमा उपभोक्ताको खर्च बढेको संकेत गर्छ।