काठमाडौं। पुनर्निर्माणपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। सोही अवधिमा ७ करोड ७१ राख राजस्व संकलन भएको छ।
यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम संकलन भएको हो। अघिल्लो वर्षको मंसिर ९ देखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट मंगलबार बेलुकीसम्म टिकट बिक्रीबापत ७ करोड ७१ लाख संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।
जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले साताको सातै दिन सञ्चालन हुन्छ। ‘अघिल्लो मंसिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसके, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिँदैन’, उनले भने, ‘बिहान १०ः३० देखि ३ः०० बजेसम्म धरहरा चढ्ने व्यवस्था छ।
छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको पनि उनको भनाइ छ। हालसम्म धरहरा चढेकामध्ये करिब २८ सय विदेशी नागरिक छन्। धरहरा चढ्न प्रतिव्यक्ति २०० शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउँछन्।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइयो। अघिल्लो मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।
धरहरामा पार्किङ गर्दा चारपांग्रे सवारीका लागि प्रतिघन्टा २० र दुईपांग्रेलाई १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा पाँच हजार तोकिएको छ।
व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघन्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार निर्धारण गरिएको छ।