काठमाडौं। उद्यम क्षेत्रका समस्याबारे जानकारी लिँदै आएका प्रधानमन्त्री बालेन्द्र शाहले आज चिया उद्योगीसँग छलफल गर्दैछन्।
भेटमा चिया उद्योगीले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले बुधबार हस्तकला महासंघका प्रतिनिधिसँग भेटेका थिए। त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघलगायतका प्रतिनिधिसँग पनि भेटघाट गरेका थिए ।
प्रधानमन्त्रीले सरोकारवाला मन्त्रालयका मन्त्रीबिनै उद्यमीसँग भेट गरिरहेका हुन्। प्रधानमन्त्री बालेनले अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टिस्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिलाई भेटघाटमा बोलाएका छन्।
नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ।
भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए। उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारसमेत प्रभावित भएका थिए। प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बुझिएको छ।