काठमाडौं। सहकारी नियमन प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२’ जारी गरेको छ।
संशोधित मापदण्डअनुसार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था प्राधिकरणमा दर्ता हुनुपर्ने भएकाले आजदेखि दर्ता खुलेको हो। सहकारी संस्था अनलाइनमार्फत दर्ता हुनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
सहकारी संस्था दर्ताका लागि अनलाइन पोर्टल सार्वजनिक गर्ने तयारी प्राधिकरणको छ। उक्त प्रणाली सार्वजनिक भएपछि मात्र सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि (म्याद) गणना सुरु हुने प्राधिकरणले जनाएको छ।
६० दिने म्याद रहेको र प्राधिकरणमा दर्ता हुने सहकारीले कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तिर्नुपर्नेछ। २ करोडसम्म सम्पत्ति भएका सहकारीले १ हजार, २–१० करोडसम्म ३ हजार, १०–२५ करोडसम्म ५ हजार, २५–५० करोडसम्म ७ हजार इजाजत दस्तुर तिर्नुपर्नेछ।
यस्तै, ५०–१ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
संस्था दर्ता गर्दा नाम, ठेगाना, सञ्चालक समिति सेयर सदस्य, कुल सेयर रकम, ठूला सेयरधनीको विवरण, नाफा नोक्सान, सेयर पुँजी जगेडा कोष, निजी कम्पनी र घरमा गरेको लगानीलगायत सबै विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ। प्राधिकरण २०८१ माघ १४ मा गठन भएको थियो।