ललितपुर। बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विणु रायमाझी पौडेलले सहकारी संस्थाहरूप्रति सकारात्मक दृष्टिकोण बनाउन आवश्यक रहेको बताएका छन्।
सहकारी आन्दोलनले महिला सशक्तिकरण, उद्यमशीलता विकास तथा आर्थिक सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनले केही संस्थाका कमजोरीका आधारमा सम्पूर्ण सहकारी क्षेत्रलाई नकारात्मक रूपमा हेर्न नहुने धारणा व्यक्त गरेकी हन्।
ललितपुरमा राष्ट्रिय सहकारी महासङ्घद्वारा आज आयोजित अन्तर्रारष्ट्रिय महिला सहकारी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महिलाको सक्रिय सहभागिताविना दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताइन्। उनका अनुसार सहकारी अभियानले विश्वभर आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउँदै आएको छ र यसले विशेषगरी महिलालाई आत्मनिर्भर तथा उद्यमी बन्न प्रेरित गरेको छ।
सहकारी संस्थाहरूले महिलालाई बचत, लगानी, स्वरोजगार तथा उद्यमशीलतामा सहभागी गराई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। मन्त्री पौडेलले कृषि तथा उद्यमशीलता क्षेत्रमा सहकारीमार्फत थप लगानी आवश्यक रहेको उल्लेख गर्दै उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
उनले सहकारी सञ्चालक, सदस्य तथा सरोकारवालाबीचको सम्बन्ध नङ र मासुको जस्तै घनिष्ट हुने भएकाले सहकारी क्षेत्रलाई सुदृढ र विश्वसनीय बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताइन्।
कार्यक्रममा उनले केही सहकारी संस्थाहरूमा देखिएका अनियमितता र बदमासीका घटनाका कारण सम्पूर्ण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बनाउनु उचित नहुने स्पष्ट पारिन्। यस्ता घटनाबाट पाठ सिक्दै पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै बचतकर्ता तथा सर्वसाधारणको सोचमा सकारात्मक परिवर्तन आउनुपर्ने बताएकी थिइन्।
मन्त्री पौडेलले सहकारी आन्दोलनलाई थप सशक्त, विश्वसनीय र जनमुखी बनाउँदै महिला नेतृत्व तथा सहभागिता वृद्धि गर्न सके देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा अझ ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन्।