काठमाडौं।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जेठमा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना बचतकर्तालाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता दिएको छ। फिर्ता गरिएको यो रकम १० हजार रुपैयाँमुनिका साना बचतकर्ताको हो।
बचत फिर्ता गरिएका सहकारीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एन्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरियन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर रहेका छन्। यी सहकारीका ऋणीबाट असुल भएको रकम दाबीकर्तालाई भुक्तानी गरिएको समितिले जनाएको छ।
समितिले जेठमा १२ वटा समस्याग्रस्त सहकारीका ऋणीबाट एक करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरेको छ। यसैगरी १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान भएको छ।
ऋण असुली भएका सहकारीमा ओरियन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।
बचत फिर्ताका लागि प्रमाणीकरण बाँकी रहेका करिब ४४ हजार मागदाबी निवेदनको चरणबद्ध रूपमा छानबिन भइरहेको छ।