काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीअन्तर्गतको एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा न्यू बुटवल सबस्टेसन र १८ किमि प्रसारण लाइन निर्माण सुरु गरेको छ।
बुधबार एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्ने बताइएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको उपस्थितिमा प्रसारण लाइन निर्माणको औपचारिक सुरुआत गरिएको हो।

कार्यक्रममा अर्थमन्त्री खनालले भने, ‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता आयोजनामा प्रतिविम्बित भएको छ। एमसीसी र एमसिए–नेपालको सहयोगबाट राष्ट्र हितका लागि सम्झौतालाई कार्यरुपमा रुपान्तरण गर्दै छौं।’
यस्तै अमेरिकी राजदूत थम्प्सनले भरपर्दाे ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा साझेदारका रूपमा नेपालसँगै रहेको बताए। उनले भने, ‘प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले घरपरिवार तथा व्यवसायका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसर पनि सिर्जना गर्छ।’
नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा नयाँ अध्याय थपिएको एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टको भनाइ थियो।
नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै आयोजनाले घरपरिवार एवं व्यवसायका लागि विद्युत् आपूर्ति थप भरपर्दाे बनाउनेछ भने विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउनेछ।
‘यस प्रसारण लाइन तथा सबस्टेसनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसर सिर्जना गर्नेछन् । नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीसँगको निकटतम साझेदारीमा आयोजनाको कार्यान्वयन जिम्मामा रहेकाले बनाउनमा प्रतिबद्ध छौं,’ उनले भने।
१८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा नेपाललाई सघाउ पुर्याउनेछ।
१८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेसनले बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण छन्।
नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै आयोजनाले घरपरिवार एवं व्यवसायका लागि विद्युत् आपूर्ति थप भरपर्दाे बनाउनेछ भने विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउनेछ।
यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्नेछ भने नयाँ निजी लगानी आकर्षित हुनेछ र नेपालका विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजस्व आर्जन गर्न सहयोग पुग्ने अपेक्षा छ।