काठमाडौं। गत असोज १ गतेदेखि लागू हुने गरी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गरिने सरकारी तयारी अन्तिम चरणमा पुगेको थियो। सोही समयमा जेनजी आन्दोलन हुँदा आगजनी र तोडफोडले सम्पूर्ण प्रक्रिया अवरुद्ध भयो।
गत भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोडसँगै आगजनी भएपछि इम्बोस्ड नम्बर प्लेट छपाई र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत सबै ध्वस्त हुन पुग्यो। यातायात व्यवस्था विभागबाट हुने सबै काम रोकियो।
यद्यपि, विभागले आन्दोलनमा क्षति पुगेको सर्भर मर्मत गरी अनलाइन प्रणाली सञ्चालनमा ल्याइसकेको छ। क्षतिग्रस्त विभागको डेटा सेन्टर, विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्तालगायतका प्रणालीहरू मर्मतपछि सञ्चालनमा आइसेकेका छन्। लाइसेन्स छाप्ने काम गत कात्तिक २१ गतेदेखि सुरक्षण मुद्रण केन्द्रबाट सुरु गरिएको छ।
तर, आन्दोलनमा इम्बोस्ड नम्बर प्लेट छाप्ने र भण्डारण गरिएको कारखाना तथा भण्डारण गरिएका प्लेटहरूसमेत ध्वस्त पारिएकाले यसको छपाई र वितरण कार्य अझै पूर्ण रूपमा ठप्प छ। हालसम्म इम्बोस्ड नम्बर प्लेटको छपाई र वितरण कहिलेदेखि सुरु हुन्छ? भन्नेबारे आधिकारिक जानकारी सरकारले गराउन सकेको छैन। इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकार र ठेक्का पाएको कम्पनी डेकाटुर टाइगर आईटी (द कोअपरेसन)बीचको सम्झौतो समयअवधि सकिन एक दिन मात्र बाँकी छ।
अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडानका लागि समय थप गरिने वा रद्द गर्ने विषयमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागको यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक श्रीकान्त यादव बताउँछन्।
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयमा जनस्तरमा विवाद र विरोध कायमै रहेको अवस्थामा यसको पूर्वाधार पूर्ण ध्वस्त हुनुले सरकारलाई थप चुनौती थपेको छ।
‘डेकाटुर टाइगर आईटीबीच भएको सम्झौताअनुसार दोस्रो पटक थपेको समय सकिन एक दिन बाँकी छ,’ उनले भने, ‘समय थप्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’ इम्बोस्ड नम्बर प्लेट जडानका लागि समय थप्ने वा रद्द गर्ने अझै अन्यौलतासँगै छलफल भइरहेको उनले स्पष्ट पारे।
यसले सवारी साधन व्यवस्थापनलाई आधुनिकीकरण गर्ने सरकारी योजनामा ठूलो बाधा पुर्याएको छ। इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयमा जनस्तरमा विवाद र विरोध कायमै रहेको अवस्थामा यसको पूर्वाधार पूर्ण ध्वस्त हुनुले सरकारलाई थप चुनौती थपेको छ। लाइसेन्स छपाइले गति लिएसँगै लामो समयदेखि प्रतिक्षामा रहेका सेवाग्राहीलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
इम्बोस्डका छपाईकोे सम्झौता अवधि सकिँदै, के गर्ला सरकार?
इम्बोस्ड नम्बर प्लेट जडान गर्न दोस्रो पटक थपिएको समय भोलि अर्थात मंसिर ११ गते सकिँदै छ। सम्झौता अवधि सकिन लागे पनि सरकारले छपाईसँगै वितरण कहिलेदेखि सुरु हुन्छ भन्नेबारे आधिकारिक जानकारी दिएको छैन।
यातायात व्यवस्था विभागको यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक यादवका अनुसार दोस्रो पटक सम्झौता गरिएको समय अवधि सकिन लागेकाले यसका लागि पुनः समय थप गर्ने वा इम्बोस्ड नम्बर जडान गर्ने कार्य रद्द गर्ने छलफलमै बताउँछन्।
यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आईटीबीच २०७३ मा सवारी साधनमा जडान गर्नका लागि इम्बोस्ड नम्बर छाप्ने सम्झौता भएको थियो। इम्बोस्ट नम्बर प्लेट जडान गर्ने सम्झौता ०७३ मा भए पनि यसको औपचारिक सुरुवात ०७४ भदौ ५ गतेदेखि भएको थियो। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेको भन्दै यसको वितरण रोक लगाउन माग गर्दै ०७४ फागुन १० मा सर्वोच्च अदालतमा रिट परेको थियो।
उक्त सयममा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजालसले अन्तरिम आदेश जारी गरेर इम्बोस्ड नम्बरको वितरण र जडानमा ०७६ मंसिरसम्म रोक लगाएको थियो। त्यसपछि इम्बोस्ड नम्बर प्लेट जडानको परियोजना अनिश्चित बनेको थियो।
सर्वाेच्चको फैसलाले बाटो खुलाएपछि विभागले इम्बोस्ड नम्बर प्लेट जडान कार्य अगाडि बढाएको थियो। सबै तयारी गरेर काम सुरु गर्न नपाउँदै कोरोना महामारीका कारण तत्काल काम अघि बढ्न सकेन।
०७६ मा तत्कालीन प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी नम्बर प्रयोगमा रोक लगाउन नपर्ने भन्दै रिट खारेज गरेको थियो।
सर्वाेच्चको फैसलाले बाटो खुलाएपछि विभागले इम्बोस्ड नम्बर प्लेट जडान कार्य अगाडि बढाएको थियो। सबै तयारी गरेर काम सुरु गर्न नपाउँदै कोरोना महामारीका कारण तत्काल काम अघि बढ्न सकेन।
कोरोना महामारी न्यून हुँदासम्म डेकाटुर-टाइगरसँग गरेको सम्झौता अवधि सकिएकाले विभागले पुनरावलोकन गर्दै पहिलो पटक दुई वर्ष समय थप गरेको थियो।
सम्झौता अवधि सकिएपछि सरकारले पहिलो पटक २०७८ असारमा २८ महिनाका लागि समय थपेको थियो। उक्त समय पनि विभिन्न विवादका कारण सकिएपछि दोस्रो पटक दुई वर्ष समय थप्ने गरी ०८० मंसिर ११ मा सम्झौता भएको थियो। सो सम्झौताको अवधि ०८२ मंसिर ११ अर्थात भोलि सकिँदै छ। उक्त अवधिभित्र कार्य सम्पन्न नभए सरकारलाई जरिवाना लाग्ने छ।
आन्दोनमा भएको आगजनी र तोडफोड कारण विभाग परिसरभित्र रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेटहरू पनि पूर्ण रूपमा जलेर खरानी भएका कारण इम्बोस्ड नम्बर प्लेट जडानको कार्य अनिच्चितकालका लागि रोकिएको थियो।
सरकारले डेकाटुर–टाइगरसँग गरेको सम्झौता अवधि समाप्त भए पनि हालसम्म इम्बोस्ड नम्बर प्लेटको छपाई र वितरण कहिलेदेखि सुरु हुन्छ भन्नेबारे आधिकारिक जानकारी आएको छैन।