काठमाडौं। नेपालले बंगलादेशलाई थप २० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकले आवश्यक प्रक्रिया पूरा गरी अतिरिक्त विद्युत् आपूर्ति सुरु गर्ने सहमति जनाएको हो।
अहिले बंगलादेश नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्दै आएको छ। बैठकले सुनकोसी–३ जलविद्युत् आयोजनामा बंगलादेशको लगानी प्रक्रिया अघि बढाउन मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने तथा जेभीए छिटो टुंग्याउने निर्णय गरेको छ। साथै, नेपालबाट भारतीय ग्रीडमार्फत बरापुकारया, पञ्चगढरठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यातको सम्भावना अध्ययन गर्ने सहमति भएको छ।
दुवै देशले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने तयारी पनि गरेका छन्। उक्त समझदारीपत्रअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारलगायत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ।
क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत पहिलो चरणमा बंगलादेशी पक्षका लागि काठमाडौंमा तथा दोस्रो चरणमा नेपाली पक्षका लागि बंगलादेशमा तालिम सञ्चालन गर्ने सहमति बैठकमा भएको ऊर्जा मन्त्रालयले जनाएको छ। साथै, नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन संयुक्त पहल गर्ने निर्णय पनि गरिएको छ।
ढाकामा सम्पन्न बैठकमा नेपालका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशकी विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सहभागी भएका थिए।