काठमाडौं। नेपाल वायुसेवा निगमको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत महाप्रवन्धक छनौट हुँदैछ। निगम सञ्चालक समितिले १५ दिनको समय सीमा दिएर महाप्रवन्धकका लागि इच्छुकहरुका लागि आवेदन दिन दिएको समय सिमा बिहीबार सकिएको छ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार बिहीबार कार्यालय समयभित्र १६ जनाले आवेदन दिएका छन्। निगमले २०८२ कार्तिक २७ गते गोरखापत्र राष्ट्रिय दैनिकमा १५ दिनको सूचना प्रकाशित गरेको थियो।
प्रवक्ता आचार्यका अनुसार आगामी सोमबारसम्ममा छनौट समितिको बैंठक बसेर निवेदनको सिलबन्दी खोल्ने छ। ‘अहिलेनै हामीले को कसले आवेदन दिए भन्ने जानकारी दिन सकिदैन,’ प्रवक्ता आचार्यले भने, ‘समितिको बैठक बसेर मुचुल्का उठाएर मात्र सबैको जानकारी लिने काम र विवरण सार्वजनिक गरिनेछ।’
कसरी गरिन्छ छनौट?
निगमको रिक्त महाप्रवन्धक छनौट सम्बन्धी कार्यविधि २०८२ तयार भएको छ। कार्यविधि अनुसार उम्मेदवारको योग्यतामा नागरिक उड्डयन, पर्यटन, व्यवस्थापन वा अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्ष उच्चस्तरको व्यवस्थापकीय अनुभव भएको हुनुपर्नेछ। छनौट समितिले १०० अंकको मूल्यांकनका आधारमा महाप्रवन्धक छनौट गर्नेछ। जसमा शैक्षिक योग्यता र अनुभवलाई बढी प्राथमिकता दिइएको छ।
सिफारिस र नियुक्ती सम्बन्धी व्यवस्थामा (१) दफा ९ को (क) देखि(घ) सम्मका मूल्यांकनको एकमुष्ठ अंकभारको आधारमा ५ जना वा प्राप्त आवेदनको एक चौथाई संख्यामध्ये जुन बढी हुन्छ सो आधारमा अन्तरवार्ताको लागि संक्षिप्त सूची प्रकाशन गरिने जनाएको छ। संक्षिप्त सूचीका उम्मेदवारको अन्तरवार्ता लिई एकमुष्ट अंकको आधारमा उपलब्ध भएसम्म ३ जना उम्मेदवारको छनौट गरी सोमध्येबाट नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्नुपर्ने छ। मन्त्रालयले उक्त ३ जनामध्येबाट महाप्रबन्धक नियुक्ति गर्नेसम्बन्धी प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेस गर्नेछ।