काठमाडाैं। तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन। ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ।
सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौंले जिम्मा पाएको थियो। विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ। ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ।
उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ। २५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी कृष्टिना थापाले जानाकारी दिइन्। अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ। केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन्। यो अन्तिम म्याद रहेको उनी बताउँछन्। आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ। निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनी बताउँछन्।
‘लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,’ उनले भनिन्, ’अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला।’
स्वच्छन्द/ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए। अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ। पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए। गत मंसिरदेखि यस खण्डमा कामले गति लिएको हो।
विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ। रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो। यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए। पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ।