काठमाडौं। सिंगटी हाइड्रोको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्।
सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।
मनाङ्स्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ। आयोजनाको प्रबर्द्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत विक्री गर्नेछ। ६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन्। आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ।
आयोजनाको बाँधका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपुजी ३ अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ। स्वपूँजीमा सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ।
आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।