काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय पाक साहित्य क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ। प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित कुकबुक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ले रियादमा सम्पन्न ३१ औं गोरमान्ड अवार्ड २०२४ मा ‘विश्वको उत्कृष्ट खाद्य पर्यटन कुकबुक’को उपाधि जित्दै देशलाई विश्व मञ्चमा नयाँ पहिचान दिलाएको हो।
होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले सेफ वैद्यद्वारा लिखित पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ले पाएको अवार्डले विश्व बजारमा नेपाललाई थप परिचित बनाएको बताए। ‘यो सफलता सेफ वैद्यको मात्र हैन, सिंगो नेपालको हो,’ अध्यक्ष शाहले भने, ‘आतिथ्यता क्षेत्रमा सधै अग्रसर छ भन्ने सन्देश विश्वभर पुगेको छ।’
यस वर्ष २० भन्दा बढी मुलुकका लेखक र प्रकाशकहरू प्रतियोगितामा सहभागी थिए। वैद्यको पुस्तकले नेपाली स्वाद, परम्परा र सांस्कृतिक कथालाई अनुसन्धानपूर्ण तर प्रभावकारी ढंगले प्रस्तुत गरेको भनेर उत्कृष्ट मानिएको छ।
द मिस्टिक किचेन्स अफ नेपाल केवल रेसिपीको संग्रह नभएर १६ वर्षको यात्रामा संकलित पाककला, सांस्कृतिक कथा, यात्रा अनुभव र हस्तान्तरण गरिएको ज्ञानलाई समेटेको छ। यसले परम्परागत व्यञ्जनहरू, क्षेत्रीय खाद्य मार्गहरू र हिमालयन खानाको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गरेको छ।
अवाड्र्सका अध्यक्ष एडुअर्ड कोइन्ट्रेउले विजेता घोषणा गर्दै वैद्यको कृतिको प्रशंसा गरे। उनका अनुसार, पुस्तकले नेपाली भान्साको मौलिकता, भौगोलिक विविधताले सिर्जित फरक स्वाद र परम्परागत कथा–इतिहासलाई प्रभावकारी ढंगले विश्वसामु प्रस्तुत गरेको छ।
सन १९९५ मा स्थापना भएको गोरमान्ड अवार्ड विश्वभरिका उत्कृष्ट खाना तथा पेय–सम्बन्धी पुस्तक, डिजिटल सामग्री र टेलिभिजन कार्यक्रमलाई सम्मान गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो।
अवार्डले नेपालका पाक परम्परा, स्वाद र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने महत्वपूर्ण ऐतिहासिक उपलब्धि दिएको विशेषज्ञ बताउँछन्। आगामी ठूलो अन्तर्राष्ट्रिय भेला सन २०२६ सेप्टेम्बरमा पेरिसमा हुने ‘भिलेज इन्टरनेशनल डे ला ग्यास्ट्रोनोमी’मा आयोजना हुनेछ। जहाँ यस वर्षका सबै विजेतालाई विशेष सम्मान प्रदान गरिने छ।