काठमाडौं। बुद्ध जन्मस्थल लुम्बिनीमा मंसिर २४, २५ र २६ गते आयोजना हुन लागेको ‘विश्व शान्ति कार्यक्रम’मा २५ जना अर्बपतिले सहभागी जनाउने भएका छन्। कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार यो तेस्रो संस्करणमा पहिलो पटक यति ठूलो संख्यामा व्यवसायी र अर्बपतिहरूको सहभागिता हुने भएको छ।
कार्यक्रममा भारतको केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्लोभेनियाका स्वतन्त्र प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटर, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद लगायतका प्रतिष्ठित व्यक्तिहरू उपस्थित हुने छन्।
मिडिया संयोजक खतिवडाका अनुसार, तीन दिनसम्म चल्ने कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल तथा विदेशका राजनीतिक नेता, विद्वान, संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यवसायी, कलाकार, युवा र समुदाय प्रतिनिधिसमेत कार्यक्रममा भाग लिने छन्। लुम्बिनीमा चिनियाँ व्यापारी प्रतिनिधि मण्डलको पनि सहभागिता रहने छ।
कार्यक्रम संयोजक शेखर गौतमले तीन दिनको कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, दिगो विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, नेतृत्व र स्थानीय शासनमा केन्द्रित बहस र छलफल हुने जानकारी दिए। विशेष गरी युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत समूहका आवाजलाई सशक्त बनाउने उपायहरूमा जोड दिइने उनले बताए।