काठमाडौं। सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव हरिकुमार मैनालीलाई सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव मैनालीको ठाउँमा मुकुन्द निरौलालाई सरुवा गरे पनि हालसम्म गुपचुप राखेको छ।
सोमबार सार्वजनिक गरेको मन्त्रिपरिषदको बैठकमा सचिव सरुवाको जानकारी नदिए पनि पर्यटन सचिव मैनाली सोमबार मन्त्रालयमा गएनन्। उनको ठाउँमा नयाँ सचिव पनि आएनन्।
मन्त्रालयका एक सहसचिवका अनुसार पर्यटन सचिव मैनालीको सरुवा भएको हल्ला भए पनि सोमबार नयाँ सचिव आएनन्। ‘हामीले पनि सचिव ज्यूको सरुवा भएको हल्ला सुनेका हौँ,’ ती सहसचिवले भने, ‘तर आधिकारिक जानकारी आएको छैन।’
महाप्रबन्धक छनौटको मुखमा किन फेरिए सचिव?
नेपाल वायुसेवा निगम (नेवानि)मा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनौट हुँदै छ। चार वर्षे कार्यकाल रहने महाप्रबन्धक पदका लागि १६ जनाले आवेदन दिएका छन्। सरकारले पर्यटन सचिवकै संयोजकत्वमा महाप्रबन्धक छनौट समिति बनाएको छ।
महाप्रबन्धक छनौटको प्रक्रिया सुरु भइसकेको अवस्थामा पर्यटन सचिवको सरुवाले केही गडबड त हुन लागेको छैन भन्ने प्रश्न उठ्न थालेको छ।
पर्यटन सचिव मैनाली आफै संयोजक रहेका बेला महाप्रबन्धक छनौटका लागि कार्यविधिसमेत बनाएका थिए। कार्यविधि बनाउन संलग्न भएका संयोजक नै सरुवा भएपछि सरकारले कुनै नियत राखेको हो कि भन्ने प्रश्नहरु उठ्न थालेको हो।
यता प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले पनि सचिव मैनाली सरुवाको आधिकारिक पत्र नआएको बताए। ‘हामीले पनि सरुवाको हल्ला सुनेका हौँ,’प्रवक्ता अर्यालले भने, ‘सरुवा भएको भए पनि त्यो नियमित हो, सचिव परिवर्तनले महाप्रबन्धक छनौटमा कुनै असर पुग्दैन।’
पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले पनि सचिव सरुवाको आधिकारिक जानकारी नआए पनि हल्ला आएको बताए। सचिवको सरुवाले महाप्रबन्धक छनौटमा कुनै असर नपुग्ने बताउँदै सम्भवत आउने आइतबारदेखि आवेदकहरुको स्कृनिङ सुरु हुने उनको भनाइ छ।महाप्रबन्धकका लागि १६ जनाले आवेदन दिएका छन्।
प्रधानमन्त्री कार्कीसँग सचिव मैनालीको खटपट
पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्की सचिव मैनालीसँग केही रुष्ट थिइन्। खासगरी निगमको महाप्रबन्धक छनौट प्रक्रियामा गरेको ढिला सुस्तीको विषयलाई लिएर केही समयअघि प्रधानमन्त्री कार्कीले प्रश्नसमेत उठाएकी थिइन्।
खुल्ला प्रतिस्पर्धामार्फत छनौट प्रक्रिया सुरु गर्न दिएको निर्देशन करिब एक सातासम्म कार्यन्वयन नगरे पनि प्रधानमन्त्री कार्यालयमा बोलाएर सचिव मैनालीलाई काममा गरेको ढिला सुस्तीको बारेमा प्रश्न उठाएकी थिइन्।
सचिव मैनालीले भने आफू कामको लागि विदेश जानु परेकाले छनौट प्रक्रियालाई अगाडि बढाउन ढिलाई गरेको जवाफ दिएका थिए। सम्भवतः त्यही ढिला सुस्तीका कारण प्रधानमन्त्री कार्कीले सचिव मैनालीलाई सरुवा गरेको हुन सक्ने जनाएको छ।