बुद्ध एयरका सञ्चालक तथा सफल व्यवसायी वीरेन्द्रबहादुर बस्नेत जीवनको एउटा महत्त्वपूर्ण मोडमा छन्। दशकौंसम्म विमान व्यवसायमा स्थिरता, अनुशासन र विश्वास स्थापित गरेका उनी अहिले सार्वजनिक जीवनको नवीन अध्याय–राजनीतितर्फ अघि बढिरहेका छन्। उनी यस यात्रामा न कुनै ट्रेन्ड पछ्याएर आएका हुन्, न त कुनै व्यक्तिगत महत्त्वाकांक्षाको कारण। उनका शब्दमै भन्नुपर्दा, राजनीतिमा प्रवेश गर्नुको मूल कारण आगामी पुस्ताको भविष्य सुरक्षित गर्ने जिम्मेवारी हो।
पोखरामा मंगलबार आयोजित ‘पर्यटन–अर्थतन्त्र अन्तरक्रिया’ कार्यक्रममा बस्नेतले आजको राजनीति कहाँ कमजोर छ र भविष्य कसरी उज्यालो बन्न सक्छ भन्ने विषयमा स्पष्ट दृष्टि प्रस्तुत गरे । उनको भाषणमा नाराभन्दा योजना धेरै थिए, भावनाभन्दा तथ्य र समाधान बढी थिए। उनले जेनजी आन्दोलनलाई सम्मानपूर्वक स्मरण गर्दै भने कि त्यही आन्दोलनका कारण राजनीतिमा आएका होइनन्, न कुनै व्यक्तिगत रहरले।
जेनजी आन्दोलनमा ४५ युवा सहिद भएको पीडाको इतिहास बिर्सेर अहिले दलहरू फेरि गठबन्धन र चुनावी गणितमा फर्किएको भन्दै उनले आलोचना गरे। बेरोजगारी र अवसर अभाव नै त्यो आन्दोलनको मूल कारण भएको उनको तर्क थियो।
बस्नेतले राजनीति पेसा होइन, राष्ट्र परिवर्तनको माध्यम हो भन्ने धारणा बारम्बार दोहोर्याए। उनी भन्छन्, ‘आफूले परिवारको खर्च चलाउन राजनीति गरेको होइन, बरु राष्ट्रमा परिवर्तन ल्याउने बाध्यताले राजनीति रोजेको हो। ६२ वर्षको उमेरमा सहज र सुगम जीवनलाई एकातिर राखेर संघर्षको बाटो रोज्नु सजिलो थिएन, तर देशका युवाको भविष्य र राष्ट्रको सम्भावनाप्रति उब्जिएको चिन्ताले उनलाई राजनीतितर्फ डोर्याएको रहेछ।
उनका विचारको केन्द्रबिन्दु पर्यटन, भूराजनीतिक समझदारी र रोजगारी सिर्जना रहे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र पर्नुको कारण आन्तरिक इच्छाशक्ति र बाह्य भूराजनीतिक असमझदारी भएको बताए। नेपालको पर्यटन ११ लाख भित्र्याउने सीमामा दशकौंदेखि अड्किनुको भित्री कारण यही जडता हो भन्ने उननको स्पष्ट बुझाइ छ।
संघीय संरचनामा राजनीति केन्द्रमै सीमित नहुने गरी बस्नेतले प्रदेशअनुसार फरक एजेन्डा पेस गर्दै आएका छन्। पोखरामा पर्यटन, भैरहवामा विमान र ट्रान्जिट सम्भावना, कोसीमा प्रविधिमूलक कृषि अनि प्रदेशअनुसार उद्यमशीलता र अवसर विस्तार उनका एजेन्डा हुन्।
नेपालले आफ्नै आकाश खुकुलो बनाएर महादेशीय उडान सञ्चालन गर्न सके मात्र पर्यटनमा आमूल परिवर्तन हुन सक्ने उनको तर्क थियो। उनले भैरहवा विमानस्थललाई नेपालको वास्तविक अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उदाहरण प्रस्तुत गरे, जहाँ ठूला जहाज उडाएर वर्षमा करोडौं यात्रु ल्याउन सकिने सम्भावना रहेको विस्तारपूर्वक व्याख्या गरे।
बस्नेतको अर्काे ठोस धारणा संघीय संरचनामा राजनीति केन्द्रमै सीमित हुन नहुने भन्ने हो। त्यसैले उनले प्रदेशअनुसार फरक एजेन्डा पेस गर्दै आएका छन् । पोखरामा पर्यटन, भैरहवामा विमान र ट्रान्जिट सम्भावना, कोसी प्रदेशमा प्रविधिमूलक कृषि, प्रदेशअनुसार उद्यमशीलता र अवसर विस्तार। उनको राजनीति नारा भन्दा योजनामा आधारित छ। यसैले उनी परम्परागत नेताभन्दा फरक देखिन्छन्।
आफ्नो भाषण र प्रश्न उत्तरमा एक घन्टा बढी समय बिताएका बस्नेत कार्यक्रमको अन्त्यतिर अत्यन्तै भावुक तर दृढ स्वरमा बोले–आरामदायी जीवनलाई थाती राखेर आफू राजनीतिमा आएका कारण छोराछोरी र नाति पुस्ताका लागि राम्रो भविष्य निर्माण गर्ने आकांक्षा मात्रै हो। उनका यी शब्दले बस्नेतलाई केवल व्यवसायी वा राजनीतिज्ञ मात्र होइन, राष्ट्रलाई दिशा दिन चाहने चिन्तनशील चरित्रका रूपमा प्रस्तुत गर्छन्।
बस्नेतले आफ्नो राजनीतिक यात्रासँगै नेपालको पर्यटन अर्थतन्त्रलाई एक नयाँ दिशातर्फ उभ्याउन सकिने विस्तृत खाका पनि स्लाइडसोमार्फत प्रस्तुत गरे। नेपालले अहिले भोगिरहेको पर्यटन जडता तोडेर देशलाई ५० लाखभन्दा बढी पर्यटक भित्र्याउन सक्ने क्षमता रहेको उनले स्पष्ट रूपमा चित्रण गरे।
पाँच गुणा बढी पर्यटक आकर्षित गर्न सकिने सम्भावना उनको मुख्य दाबी थियो, जसले देशमा तीस लाख नयाँ रोजगारी सिर्जना गर्दै पर्यटनलाई उच्च आययुक्त क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्य बोकेको थियो। बस्नेतले आगामी वर्षहरूमा पर्यटन क्षेत्रले १२ खर्ब २० अर्ब रुपैयाँ बराबरको योगदान दिन सक्ने र दस वर्षमा २१ खर्ब रुपैयाँभन्दा बढी लगानी प्रवाह हुन सक्ने दीर्घकालीन लक्ष्य पनि राखे।

उनको प्रस्तुतिको केन्द्रमा नेपाल वायुसेवा निगमलाई आधुनिक र शक्तिशाली संरचनामा पुनर्जीवित गर्ने योजना थियो। ५० वटा ठूला, आधुनिक र दिगो उडान क्षमता भएका विमान सञ्चालन गर्न सकिने उनले बताए, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको हवाई सेवा केन्द्रका रूपमा पुनःस्थापित गर्नेछ।
कालोसूचीबाट नेपाललाई पूर्ण रूपमा मुक्त गराई युरोप र अन्य बजारमा उडान पुनः सुरु गर्न सकिने उनको धारणा छ। निगम पुनर्संरचनामा ३० प्रतिशत सरकार र ७० प्रतिशत नागरिक तथा निजी क्षेत्रको संयुक्त स्वामित्व मोडल अपनाइने, जसले वित्तीय व्यवस्थापन, पारदर्शिता र सेवा गुणस्तरमा उल्लेख्य परिवर्तन ल्याउने उनको विश्वास थियो।
बस्नेतले क्षेत्रीय तथा दुर्गम हवाई सेवालाई पनि आर्थिक रुपान्तरणको आधारका रूपमा व्याख्या गरे। पोखरा, जनकपुर, भैरहवालगायतका केन्द्रलाई क्षेत्रीय उड्डयन हबका रूपमा विकास गर्न सकिने उनको प्रस्ताव थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई खासगरी महादेशीय उडानका लागि मुख्य प्रवेशद्वार बनाइने, दुईटा रनवे र सयौँ उडान क्षमता सहितको पूर्वाधारले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउने उनले बताए।
बस्नेतको आर्थिक रोडम्यापले दीर्घकालीन दिगो लगानीलाई प्राथमिकता दिएको देखियो। ठूला जेट खरिददेखि होटल तथा आवास विस्तारीकरणसम्म, सडक सञ्जाल विस्तारदेखि सीपयुक्त मानवीय स्रोत विकाससम्म, देशले आगामी दशकमा दर्जनौं खर्ब रुपैयाँ बराबरको पुँजी उपयोग गर्न सक्ने उनले देखाए।
बस्नेतको आर्थिक रोडम्यापले दीर्घकालीन दिगो लगानीलाई प्राथमिकता दिएको देखियो। ठूला जेट खरिददेखि होटल तथा आवास विस्तारीकरणसम्म, सडक सञ्जाल विस्तारदेखि सीपयुक्त मानवीय स्रोत विकाससम्म, देशले आगामी दशकमा दर्जनौं खर्ब रुपैयाँ बराबरको पुँजी उपयोग गर्न सक्ने उनले देखाए।
५० हजार नयाँ होटल कोठा आवश्यक पर्ने, ५० वटा ठूलो आकारका जेट सञ्चालन गर्ने, रोजगारीमा बाउन्न लाखभन्दा बढी नागरिक समावेश हुने, तीन हजार किलोमिटरभन्दा बढी सडक तथा प्रसारण मार्ग आवश्यक पर्नेजस्ता तर्कले उनको योजना केवल आशावादी सम्भावना नभई व्यावहारिक गणनामा आधारित रहेको संकेत दियो ।
बस्नेतको प्रस्तुतिले पर्यटन, उद्योग, सेवा र कृषि सबै क्षेत्रलाई एकै नीतिगत ढाँचामा जोडेको देखिन्थ्यो। स्थानीय उत्पादनको खपत बढाएर कृषि बजार विस्तार गर्न सकिने, स्थानीय पर्यटनसँग जोडिएका पेसा–व्यवसायले ग्रामीण क्षेत्रमै आर्थिक शक्ति निर्माण गर्न सक्ने, यातायात र आवास संरचनाले सम्पूर्ण प्रदेशमा समृद्धिको आधार तयार पार्न सक्ने उनको ठहर थियो।
अन्ततः बस्नेतले नेपाललाई विश्वसामु नयाँ पहिचानसहित प्रस्तुत गर्न सकिने बताए। सुरक्षित, शान्त, अनुशासित र आत्मनिर्भर नेपालको छवि निर्माण गर्दै पर्व, संस्कृति, सामुदायिक जीवनशैली, प्राकृतिक सौन्दर्य र धार्मिक पूर्वाधारलाई संयोजन गरेर नेपाललाई हिमाल, पहाड र तराईको एकीकृत गन्तव्यका रूपमा उभ्याउन सकिने उनले धारणा प्रस्तुत गरे।
अन्तर्राष्ट्रिय मिडिया, प्रतिष्ठित व्यक्तित्व र विश्वस्तरका साझेदारसँग मिलेर नेपालको पर्यटनलाई स्थायी पहिचान दिने उनको योजना छ। पर्यटन क्षेत्रलाई सहज, सुरक्षित र प्रविधियुक्त बनाउँदै नेपाललाई आत्मनिर्भरता र आर्थिक उचाइतर्फ डो¥याउने बस्नेतको प्रस्तुतिमा प्रस्ट अडान थियो–देशले केवल सुधार होइन, पूर्ण आर्थिक रुपान्तरणको बाटो समात्नै सक्छ।
बस्नेत नेपालको राजनीतिक आकाशमा उदाउँदै गरेका नयाँ आकृतिका रूपमा देखिँदैछन्। तर, उनले पोखराका पर्यटन व्यवसायी र पत्रकारको तिखो प्रश्नको पनि सामना गर्नुपर्यो । नयाँ पार्टी, संगठनबिना, जेनजीपछिको माहोल छोप्न राजनीतिमा आएको विषयमा उनले प्रश्न सामना गरे पनि आफ्नो भिजन र योजनामार्फत मुलुकको समृद्धिमा गर्नुपर्ने कामलाई लगेरै जोडे।
उनीसँग नारा कम छन्, तर योजना गम्भीर र स्पष्ट छन्। बस्नेत पार्टीगत प्रतिस्पर्धाभन्दा राष्ट्रको आर्थिक सम्भावनाप्रति बढी केन्द्रित छन्। विमान व्यवसायमा जस्तै–अनुशासन, स्थिरता र स्पष्ट मार्गचित्र–अब उनी राजनीतिभित्र पनि त्यही संस्कार स्थापित गर्न चाहन्छन्।
नेपाल उडानका लागि तयार छ कि छैन, त्यसबारे बहस भिन्न हुन सक्छ, तर बस्नेतको राजनीतिक यात्राले भने आफ्नो रनवे तयार गरिसकेको छ। अब आकाश कहाँसम्म खुल्छ, यात्रा डिले हुन्छ कि हुँदैन, यात्रु कम भएर प्लेन मर्ज भएजस्तै उनको पार्टी पनि अरु वैकल्पिक पार्टीसँग गठबन्धन या एकता गर्छ कि गर्दैन। त्यसले पनि उनले पार्टी र विचारलाई दिशाबोध गर्नेछ।