काठमाडाैं। गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ। पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ।
विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ। यस्तै,प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ। यी सबैको संगमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको १० उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरे।
यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ। एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जङ्गल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताए। उनका अनुसार पछिल्ला तीन वर्षको तथ्यांकले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ।
प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए। सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनले जानकारी दिए। उनका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन्।