पोखरा। पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र १०० वर्षको इतिहास छ। बिहानैदेखि मानिसको भीड लाग्छ। कतिपयलाई थाहा नहुन सक्छ, किन भीड? बाहिर न त ठूलो साइनबोर्ड छ, न कुनै ब्यानर। तर भित्र छ पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध ‘भुत्तेको जेरी पसल।’
तातो तेलको गन्ध, चिनीको मीठाससँगै त्यहाँबाट निस्कने धुँवासमेत विशेष लाग्छ। एउटा विशेष स्वादका लागि मानिसहरू घण्टौँ कुर्न तयार हुन्छन्। स्वादिलो जेरीसँग मुख मिठो बनाउन आतुरहरुमा निकै शालिनता र धैर्यता देखिन्छ।
भुत्ते जेरीको कथा सुरु हुन्छ सिद्धिलाल चुल्याजुबाट। उनी १९७० सालमा रोजगारको सिलसिलामा म्यानमार (बर्मा) पुगेका थिए। सिद्धिलालले सिकेको पाककला लिएर नेपाल फर्केपछि १९७२ सालमा पोखराको पुरानो भीमसेन टोलमा भुत्तेको मिठाई पसल सञ्चालन गरे।
व्यवसाय यति लोकप्रिय भयो कि सिद्धिलाललाई ‘भुत्ते साहु’ भनेर चिनिन थालियो। त्यही नाम समयसँगै रुपान्तरित हुँदै आजको ‘भुत्तेको जेरी पसल’ बन्न पुग्यो।
हजुरबुबादेखि छोरासम्म अनि अहिले नातिसम्म यो व्यवसाय घरकै हातले चल्दै आएको छ। सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले पनि छोराहरुको साथमा व्यवसाय चलाए। आमाको पनि निधनपछि कान्छा छोरा राजकुमार चुल्याजुले पुख्यौली थलोमा व्यवसाय सम्हाले। अहिले उनको श्रीमती र छोरा एलिस पूर्ण रुपमा सोही व्यवसायमा संलग्न छन्। तीन पुस्तासम्म जोडिएको यो व्यवसाय आज पोखराको पहिचान र ‘ब्राण्ड’ बनेको छ।
व्यवसायमा चुल्याजु परिवारको आफ्नै समय तालिका छ। बिहान ८ बजेदेखि १२ बजे र बेलुका ४ः३० देखि साँझ ६ः३० बजेसम्म पसल खुला हुन्छ। अधिकांश नेपाली युवाहरू दीर्घकालीन काममा नटिक्ने र विदेश जान नै हतारिने हुँदा चुल्याजु परिवारले अरुमा निर्भर नभई परिवारको जनशक्तिलाई उपयोग गरेर व्यवसाय चलाइरहेका छन्।
‘यो त खानेकुराको पसल होनी, एकपटक खाएपछि अर्को दिन आफन्त साथीभाइलाई लिएर आउनुहुन्छ, यो खोज्दै–खोज्दै खानु पर्ने जेरी हो, त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो,’ राजकुमारले हाँस्दै साइनबोर्ड नराख्नुको कारण सुनाए, ‘माग बढ्ने बेला त भ्याइनभ्याइ हुन्छ। तर स्वाद, आकार र परम्परामा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्दैनौँ पनि।’
विं.सं. २०१७ मा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा सिद्धिलालले रोटीको निकै आर्कषक द्वार बनाएका थिए रे। त्यो द्वार हेरेर राजा अत्यन्त खुसी भई रत्न मन्दिरमा बोलाएर बक्सिस दिएको विषय आज पनि चुल्याजु परिवारका लागि गर्वको इतिहास बनेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विन्ध्यवासिनी पैदलयात्राको क्रममा यहाँको जेरी खाएको थियो। त्यो पलसमेत उनीहरूले निकै स्मरण गर्छन्। चर्चित सेलब्रेटी, पत्रकारहरु पनि सोध्दैखोज्दै आउने गरेको अनुभव राजकुमारले सुनाए।
दसैँ, तिहारमा थेगी नसक्नुको भीड हुन्छ। विदेशबाट घर आएकाहरुका लागि अझ विशेष स्थान बनेको छ यो ठाउँ। भुत्तेको जेरी खाएका मात्र होइन, नाम सुनेका पनि एकपटक ‘भुत्तेको जेरी’ खोज्दै पोखराको पुरानो भीमसेन बजारमा आइपुग्छन्।
नेवारी समुदायका पाठपूजा, वार्षिक पूजा हरेकमा यहाँका परिकारको माग निकै बढ्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजु बताउँछन्। ‘चाडपर्व नेवारी समुदायको पर्वहरुमा माग बढी हुन्छ,’ उनी भन्छन्।
सासु ससुराको व्यवसायलाई निरन्तरता दिएर ग्राहकको मन जित्न पाउँदा निकै आनन्द लाग्ने उनी बताउँछन्। हजुरबुबाले सन् १९१६ मा सुरु गरेको यो व्यवसायले निरन्तरता दिन पाउनु नै ठूलो अवसर हो।
झण्डै ४४ वर्षपछि भुत्तेको जेरीको स्वाद खोज्दै आउनुभएका भाइरोलोजिष्ट डा विष्णु उपाध्याय छोरा-नातिले निरन्तरता दिएको देख्दा निकै खुसी लागेको बताउँछन्। म २०३८÷३९ सालतिर म पोखराको रामघाटस्थित चिकित्सा शास्त्र अध्ययन संस्थामा थिएँ, त्यतिबेला यहाँको जेरी खुब खान आउँथे, आज ४४ वर्षपछि पुनः पोखरा आउँदा मलाई त्यो स्वादको याद आयो, यहाँ आएर जेरी खान पाउँदा निकै खुशी लाग्यो। भुत्तेको जेरी केबल मिठाई होइन, यो परम्पराको निरन्तरता, परिवारको श्रम र पोखराको पहिचान भएको बताउँछन् पोखराका अग्रज पत्रकार नारायण कार्की।