काठमाडौं। दुई वर्षअघि बूढानीलकण्ठमा लेमन ट्री प्रिमियरको नाममा सञ्चालित तारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ले ९ महिनामै १६ करोड रुपैयाँको व्यापार गरेको छ।
भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री होटल्सको फ्रेन्चाइज सम्झौता गरेको लेमन ट्री प्रिमियरले सन् २०२५ को ९ महिनामै उक्त आम्दानी गरेको हो। यो होटल सन् २०२४ को मध्यदेखि मात्रै पूर्ण रुपमा सञ्चालनमा आएको थियो।
बूढानीलकण्ठ हेरिटेज सन् २०१८ मा स्थापना भएर सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो। त्यसपछि कम्पनीले सर्वसाधारणमा सेयर (आईपीओ) जारी गरेर पुँजी थप गर्ने प्रक्रियामा छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारीको आवश्यक तयारी गरेको हो।
सोहीअनुसार कम्पनीले नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार ‘इस्यु रेटिङ’ गराएको छ। जसमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘बिप्लस’ रेटिङ दिएको छ। कम्पनीले प्राप्त गरेको रेटिङले ‘कम्पनीको साख योग्यता’ सामान्य कमजोर रहेको संकेत गर्छ। तर, लगानीकर्ताले यस्तो रेटिङ प्राप्त कम्पनीमा लगानी गर्न उच्च जोखिम मानिन्छ।
इक्राको रेटिङ प्रतिवेदनअनुसार होटलको उच्च लागतका कारण कम्पनीमा लगानी जोखिम छ। कुल दुई अर्ब ३९ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त होटल हाल ९९ वटा कोठाहरु सञ्चालनमा छन्।
कुल लागतमा ४५ प्रशितत ऋणको हिस्सा छ। रेटिङ रिपोर्टअनुसार प्रतिकोठा लाग दुई करोड ४२ लाख रुपैयाँ छ। तर, हालसम्म होटलको कुल अकुपेन्सी ३६ प्रतिशतमात्रै छ भने प्रतिकोठा आम्दानी औसतमा दुई हजार ७५२ रुपैयाँ मात्रै रहेको छ।
कम्पनीको अप्रोशन लिभरेज स्थिर नभएसम्म वित्तीय अवस्था दबाब र जोखिम रहने छ। पूर्ण सञ्चालनमा आएको छोटो समय अर्थात् सन् २०२५ को ९ महिनामै होटलको सञ्चालन मार्जिन ८.५ प्रतिशतले नकारात्मक छ। भविष्यमा होटलले आम्दानी बढाउने र प्रर्याप्त मार्जिन कायम नराखेमा प्राप्त रेटिङसमेत घट्ने सम्भावना छ।
होटलमा बिजनेस इन्ट्रेस ग्रुपको १०.७ प्रतिशत, आद्यन्त फन्ड म्याजेनमेन्टको ९.४७ प्रतिशत, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्सीको ७.७ प्रतिशत, सापनमा रिलाइन्स लाइफ इन्स्योरेन्सको ७.१० प्रतिशत, पाठक एन्ड सन इन्भेष्टमेन्टको ५.५६ प्रतिशत, जनक प्रसाद भट्टको ३.९३ प्रतिशत र डा. राजेन्द्र केसीको ३.१४ प्रतिशत सेयर स्वामित्व छ।