काठमाडौं। भारतले करिब ९ वर्षपछि नेपाल लगाएको ठूला भारतीय नोटको प्रतिबन्द खुलाएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले राजपत्रका सूचना प्रकाशित गर्दै उक्त व्यवस्था गरे पनि नेपालमा यो व्यवस्था लागू हुन थप १५ दिन कुर्नुपर्ने भएको छ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सन् २०१६ मा नोटबन्दी गरेपछि १०० रुपैयाँभन्दा माथिका उच्च दरका भारतीय नोटहरू (दुई सय, पाँच सय, १ हजार र २ हजार) नेपालमा अवैद्य भएका थिए।
आरबीआईले ९ वर्षपछि नेपालमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेर खुलाएको प्रतिबन्दमा नेपाल राष्ट्र बैंकले आवश्यक कानुनी प्रक्रिया पुर्याएर औपचारिक रूपमा १५ दिनभित्रै खुलाउने प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए।
‘आरबीआईले आफ्नो निर्णय गर्यो, यो विषयको माग हामीले लामो समयदेखि गर्दै आएका थियौँ। राष्ट्र बैंकले समेत थप नीतिगत व्यवस्था गरेर सोमबारको सूचना राजपत्रमा प्रकाशित गरेपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउने छ,’ राष्ट्र बैंक प्रवक्ता पौडेलले भने, ‘यस विषयमा राष्ट्र बैंकले आवश्यक काम सुरु गरिसकेको छ। कम्तीमा १५ दिनभित्रै सूचना प्रकाशित हुने सम्भावना छ।’
यो व्यवस्था लागू भएपछि भारतीय नागरिकले भारु २५ हजारसम्मका ठूला नोटहरू साथमा लिएर नेपाल आउन पाउने छन्। यद्यपि, राष्ट्र बैंकले यसलाई इजाजत पत्र प्राप्त मनिचेञ्जर, बैंक तथा वित्तीय संस्थामार्फत अनिवार्य सटहीको शर्तसहित कार्यान्वयन गर्ने तयारी पौडेल बताउँछन्।
‘भारतले आफ्नो नियमनमा परिवर्तन ल्याइसकेपछि हामीले पनि त्यसलाई कार्यान्वयन गर्नुपर्छ। तर, यो व्यवस्था लागू भए पनि नेपाली बजारमा भारतीय रुपैयाँ बराबर नेपाली रुपैयाँसरह चलाउन पाइने होइन। त्यसलाई निश्चित ठाउँमा सटही गर्नुपर्छ। सटही केन्द्रहरू, बैंकहरू वा इजाजत पत्र प्राप्त मनिचेञ्जरमार्फत मात्रै यो सटही गर्न पाइने छ।
उनले भने, ‘यस्तो व्यवस्था अनौपचारिक कारोबार नियन्त्रणमा रहने र पर्यटक तथा कामदार दुवैलाई ठूलो राहत मिल्ने अपेक्षाले गर्न लागिएको छ।’
भारतले सन् २०१६ मा नोटबन्दी गरेपश्चात् भारु ५०० र १००० दरका पुराना नोटहरू अवैध बनेका थिए। नेपालमा पनि ठूला दरका भारतीय नोटहरूमाथि प्रतिबन्ध लागेको थियो। यसले दुई देशबीचको खुला सीमानाका बासिन्दा, पर्यटक र कामदारहरूलाई ठूलो समस्या सिर्जना गरेको थियो।
सको मुख्य लक्ष्य भारतीय रुपैयाँको अवैध ओसारपसारलाई कानुनी दायराभित्र ल्याउनु हो। यसलाई नेपाली रुपैयाँसरह चलनचल्तीमा ल्याउनु हो।
आरबीआईले हालै जारी गरेको नयाँ परिपत्रअनुसार २५ हजार भारुसम्मका ठूला नोटहरू नेपालमा लिएर आउन पाइन्छ भने राष्ट्र बैंकले समेत नेपालबाट सोही परिमाणमा भारु बोकेर भारत लैजाने व्यवस्था गर्ने पौडेल बताउँछन्।
‘आरबीआईले नेपालमा मात्रै ल्याउने पाउने तर, भारतमा लैजान नपाउने कुरा पहिलेदेखि गरेको थियो। हामीले दुवैतर्फ हुनपर्छ भनेर एग्री गराएका छौँ। सोहीअनुसार नीतिगत व्यवस्था गरेर सीमा सटहीको अन्य व्यवस्था गरिन्छ,’ उनले भने।
उनका अनुसार यो व्यवस्था लागू गर्दा राष्ट्र बैंकले हतारमा सीमा नाघेको कारोबारलाई प्रोत्साहन दिन नचाहेको स्पष्ट पारेको छ। यसको मुख्य लक्ष्य भारतीय रुपैयाँको अवैध ओसारपसारलाई कानुनी दायराभित्र ल्याउनु हो। यसलाई नेपाली रुपैयाँसरह चलनचल्तीमा ल्याउनु हो।
राष्ट्र बैंकले लागू गर्ने मुख्य शर्त तथा नियमनहरू
भारतबाट ल्याइएको उच्च दरको भारतीय रुपैयाँलाई नेपालको स्थानीय बजारमा प्रयोग गर्नुअघि अनिवार्य रूपमा इजाजत पत्र प्राप्त मनिचेञ्जर, वाणिज्य बैंक वा वित्तीय संस्थाहरूबाट नेपाली रुपैयाँमा सटही गर्नुपर्ने छ।
प्रवक्ता पौडेलले स्पष्ट पारेअनुसार, ‘तपाईले पसलमा गएर चिया पानी खाने कुरामा भारतीय रुपैयाँ नोट लगेर मसँग भारतीय रुपैयाँ छ, गएर मैले सामान किन्न पाउँछु भन्ने हुँदैन। त्यसलाई मुद्रा साट्नु पर्यो, नेपाली रुपैयाँ बनाउनु पर्यो अनि मात्र चलाउन पाउछ।’
उनका अनुसार प्रतिव्यक्ति सीमा नेपालमा पनि भारु २५ हजारसम्मका ठूला दरका नोटहरू बोक्न पाइने छ। भारु १०० सम्मका साना दरका नोटहरूको हकमा अहिलेको व्यवस्था कायम रहने छ।
यो प्रतिबन्ध फुकुवा हुनु नेपालको अर्थतन्त्र र सामाजिक सम्बन्धका लागि एक महत्त्वपूर्ण कदम हो। यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, कामदार र विद्यार्थीलाई राहत हुने, औपचारिक आर्थिक प्रणालीको विस्तार हुने लगायतका फाइादा हुने देखिन्छ।
यसले हुन्डीजस्ता अनौपचारिक कारोबारलाई निरुत्साहित गर्दै राज्यकोषमा विदेशी मुद्राको आम्दानीलाई पारदर्शी रूपमा रेकर्ड गर्न मद्दत गर्छ।
भारतबाट नेपाल आउने पर्यटक र तीर्थयात्रीका लागि ठूला नोट बोक्न पाउने सुविधाले उनीहरूको यात्रा सहज बनाउँछ। हालसम्मको प्रतिबन्धका कारण उनीहरूलाई सीमा क्षेत्र र नेपालभित्र ठूलो कठिनाइ हुने गरेको थियो।
प्रवक्ता पौडेल भन्छन्, ‘नेपालमा भारु चलाउला भनेर आउँछन्। अनि यहाँ चाहिँ नेपालको पुलिसले अब दुःख दिने त्यस्तो भइराछ भन्ने कुरा पनि हामीलाई आएको थियो। अब त्यो व्यवस्थाले नेपालमा धार्मिक रुपबाट आउनेलाई पनि आठ दश वटा नोटहरू हुँदा अथवा २५ हजारसम्मको नोट केही समस्या भएन।’
भारतमा रोजगारीका लागि जाने लाखौँ नेपाली कामदारहरूले अब आफ्नो आम्दानी भारु ५०० र १००० जस्ता ठूला नोटमा सजिलै नेपाल ल्याउन सक्छन्। यसअघि उनीहरूले नोट लिएर आउँदा भोग्नु परेको कानुनी झन्झट र असुरक्षा हट्ने छ।
‘भारतमा धेरै नेपाली कामदारहरु छन्। तिनीहरूले नेपालमा भारु चल्छ चल्दैन थाहा नहुँदा लिएर आउँछन्। अनि दुख पाउँछन्। अब त्यो कुरा एकदमै सहजीकरण हुन्छ,’ उनले भने। यो व्यवस्थाले औपचारिक आर्थिक प्रणालीको विस्तार गर्ने उनको विश्वास छ। राष्ट्र बैंकले मनिचेञ्जरबाट मात्रै सटहीको शर्त लागू गर्दा भारतीय रुपैयाँको ओसारपसार र कारोबार कानुनी र औपचारिक प्रणालीअन्तर्गत आउँछ।
यसले हुन्डीजस्ता अनौपचारिक कारोबारलाई निरुत्साहित गर्दै राज्यकोषमा विदेशी मुद्राको आम्दानीलाई पारदर्शी रूपमा रेकर्ड गर्न मद्दत गर्छ।
यस्तै, यो व्यवस्थाले दुई देशबीचको आर्थिक र राजनीतिक सम्बन्धमा आएको लामो समयदेखिको तिक्ततालाई कम गर्न मद्दत गर्छ। नेपालले गरेको लामो समयदेखिको मागलाई भारतले सम्बोधन गर्नुले दुई देशबीचको आर्थिक सहकार्यको नयाँ ढोका खुलेको मान्न सकिन्छ।