ओखलढुंगा। ओखलढुंगाको ढेबुवाका स–साना विद्यार्थी ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्।
ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुंगे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोसी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन्।
गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी सिन्धुलीको फिक्कलका रत्न गंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन्। बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए।
केही समय अगाडि गृह मन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोसी तार्ने गरिएको रत्न गंगा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए। बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ।
ओखलढुंगाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनले बताए। ‘अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए। लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोसी पालिका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृह मन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ’, विव्यस अध्यक्ष भण्डारीले भने, ‘जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौं।’
उनका अनुसार सुनकोसीपारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ।
विद्यार्थी ओसारपसारका लागि सुनकोसीमा बोट चलाउन फिक्कल पालिकाले सुरुदेखि नै एक जना कर्मचारी राखेको थियो। सुनकोसी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ।
बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कलका उपाध्यक्ष राजु बरालले बताए। तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ।
‘हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ’, उपाध्यक्ष बरालले भने, ‘तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौं। सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेल परेको छ।’ पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ।
सुनकोसी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थी भेला हुन्छन्। बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थी बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोसी किनारमा आउने गरेका छन्। विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ।
जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लिन, नचल्न निर्देशन दिएर नदी तारिन्छ।
बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घन्टा लगाएर छिमेकी जिल्ला विद्यार्थी घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए।
बोटमा आउने कोसीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ।
रबर बोट (डुंगा) सञ्चालन भए पनि बर्सातको समय भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन्। छोराछोरी विद्यालय पठाउन सुनकोसी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोट चढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारि नआउँदासम्म पीरमा बस्ने गरेका छन्।
‘नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ’, जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन्, ‘ढुंगामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन्, कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ। भगवान् पुकार्दै छोेराछोरी पढाउन पठाउँछौं।’
पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ। घरायसी सामान किन्न डेढ घन्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ। सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोसी नदीपारि रहेको ओखलढुंगा क्षेत्र दुर्गम छ।–रासस