काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने बताएका छन्। उनले निजी क्षेत्र अर्थतन्त्रको मुहान रहेकाले यो क्षेत्र सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन नसक्ने जिकिर गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने,‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो। मुहान सुदृढ नभईकन आर्थिक गतिविधि विस्तार पनि हुन सक्दैन। उद्यमशीलता लगानी राजस्व परिचालन र रोजगारी सिर्जना हुन सक्दैन, मुहानको संरक्षण र संवर्द्धनमा हामी सबैले केन्द्रित हुनुपर्ने आजको आवश्यकता रहेको छ।’
उनले आर्थिक वृद्धि सम्भव पार्नका लागि चार स्तम्भ आवश्यक रहेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको १६औं वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले भने, ‘सरकारले नीति बनाउने र निजी क्षेत्रले अर्थतन्त्र चलाउने हो। नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शी सुनिश्चित गर्ने हो। यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन।’
नेपालको अर्थतन्त्र अहिले आर्थिक सङ्क्रमणको मोडमा रहेकाले निजी क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको उनले गुनासो गरे। बैंकिङ क्षेत्रमा तरलता उच्च तथा घट्दो ब्याजदर व्यवस्थापनमा चुनौती रहेको छ। यस्तो अवस्थामा लगानीको वातावरणमा अनिश्चितता बढेको छ।
‘राजस्व संकलनको दबाबमा छ निर्यात अभिवृद्धि र उत्पादकत्व वृद्धि जस्ता का संरचनागत आवश्यकताहरू देखिएका छन्। एकातर्फ बैंक तथा वित्तीय संस्थामा पुँजीको व्यवस्थापन गर्ने अभाव भइरहेको छ भने निजी क्षेत्रसँग अहिले पुँजीको अभाव छ’, उनले भने।
यस्तो परिस्थितिमा वित्तीय पत्रकारिता केवल समाचार लेखन मात्र होइन सरोकारवाहरुलाई नीतिगत दिशा देखाउने मार्गदर्शन पनि रहेको उनले औँल्याए। बैंक तथा वित्तीय संस्था र व्यवसायीहरूको आर्थिक विश्लेषणबाट पुनर्तालिकीकरण गर्न पाए भने यसले धेरै उद्यमी व्यवसायीहरूमा आत्मविश्वास सिर्जना गर्न सकिने उनको भनाइ छ।