काठमाडौं। एयर अपरेटर सर्टिफिकेट (एओसी) समयमै नवीकरण नभएपछि हेली एभरेस्टका चार हेलिकोप्टर उडानस्थलमै रोकिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार एओसी नवीकरणको अन्तिम म्याद शनिबारमै समाप्त भएपछि कम्पनीका हेलिकोप्टरले उडान अनुमति गुमाएका हुन्।
प्राधिकरणको नियमनअनुसार एओसी नवीकरणमा १५-४५ दिन लाग्ने मानक प्रक्रिया छ। एओसी नवीकरण नगरी कुनै पनि वायुसेवाले उडान गर्नु कानुनविरुद्ध मानिन्छ। यस्तो अवस्थामा दुर्घटना वा आकस्मिकता परे बिमा कम्पनीले क्षतिपूर्ति नदिने प्रावधान छ।
महानिर्देशक निलम्बनमा परेपछि प्रक्रिया रोकियो
एओसी नवीकरणको अन्तिम अधिकार प्राधिकरणका महानिर्देशककहाँ हुन्छ। तर, महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि मंगलबारदेखि एओसी नवीकरणसहित सबै महत्त्वपूर्ण प्रक्रिया रोकिएको हो।
यसलाई समाधान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिवलाई प्राधिकरणको कार्यवाहक महानिर्देशक बनाउने निर्णय गरिसकेको छ।
तर, उनी सोमबारदेखि मात्र औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने भएकाले प्रक्रिया केही दिन ढिलाइ भएको प्राधिकरणले जनाएको छ।
नेपालमा ११ वटा हेलिकोप्टर कम्पनी
हाल नेपालमा ११ वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्। हेली एभरेस्टले एओसी नवीकरण फाइल पूरा नगरेको या प्रक्रिया रोकिनुले कम्पनीको उडान पूर्ण रुपमा बन्द भएको हो।
प्राधिकरणका एक अधिकारीका अनुसार एओसीबिना उडान गर्न पाउने कुनै व्यवस्था छैन। प्रमाण पत्र नवीकरण भएन भने प्रक्रियासहित उडान अनुमति स्वतः रोकिन्छ।