काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्ने दौडमा रहेका उपमहानिर्देशक प्रतावबाबु तिवारीलाई भ्रष्टचार मुद्दा दायर भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टचार भएको ठहर गर्दै आठ अर्ब दाबी भुक्तानीसहितको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विमानस्थल निर्माणको क्रममा भ्रष्टचार भएको आरोपसहित अख्तियारले आइतबार ५५ जना व्यक्तिहरुलाई मुद्दा दायर गरेको हो। पूर्वमन्त्री, सचिव र महानिर्देशकहरुलाई दायर गरेको मुद्दामा तिवारीलाई समेत दोषी देखाइएको छ।
अख्तियारले उपमहानिर्देशक तिवारीलाई प्राधिकरणको तत्कालिन निर्देशकको रुपमा मुद्दा दायर गरेको हो। अदालतमा मुद्दा दायर भएसँगै स्वतः पदबाट निलम्बनमा परेका छन्। योसँगै मुद्दा किनारा नलागेसम्म प्राधिकरण फर्किने बाटो बन्द भएको छ।
महानिर्देशकको दौडमा दिए तिवारी
प्राधिकरणको १२औँ तहमा रहेका उपमहानिर्देशक तिवारी महानिर्देशकको दौडमा थिए। निलम्बनमा परेका महानिर्देशक प्रदिप अधिकारी आउँदो माघमा चार वर्षे कार्यकाल पूरा गरी बिदाई हुने तयारी गरिरहँदा उपमहानिर्देशक तिवारी भने प्रमुख दाबेदारको रुपमा आफूलाई अघि सारेका थिए।
तिवारी प्राधिकरणमा हाल रहेका १२औँ तहका उपमहानिर्देशकमध्ये सबैभन्दा सिनियर हुन्। त्यसैले पनि सिनियरलाई महानिर्देशक बनाउँदा पनि तिवारीको नाम अग्रस्थानमा रहेको थियो।
महानिर्देशक बनाउने तयारी स्वरुप निलम्बित महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट सरुवा गरेर केही महिनाअघि मात्र प्राधिकरणको कर्पोरेट निर्देशनालयका प्रमुख बनाइएको थियो।