काठमाडौं। नेपाली कांग्रेसलाई खुलाबजारको बाटो देखाएर मुलुकमा निजी लगानी भित्र्याउन भूमिका खेलेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतलाई पोखरा विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचार आरोप लागेको छ।
६ पटकसम्म अर्थमन्त्री बनेका कांग्रेस नेता डा. महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० मा अर्थमन्त्री बनेका बेला गरिएको निर्णयलाई टेकेर भ्रष्टाचार मुद्दा लगाएको हो।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा लागत बढाउन भूमिका खेलेको भन्दै तत्कालीन अर्थमन्त्रीको हैसियतमा अख्तियारले आइतबार महतसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
महतसहितका प्रतिवादीले चाइना इन्जिनियरिङ कर्पोरेसनका पदाधिकारीसँगको मिलेमतोमा योजनामा स्वीकृत अनुमानभन्दा बढाई ७ करोड ४३ लाख ४३ हजार लागत बढाएर प्रतिवदीलाई फाइदा हुने काम गरेको अख्तियारको ‘चार्ज सिट’मा दाबी गरिएको छ।
२०७१ कात्तिक ३ मा तत्कालीन मन्त्री महत, तत्कालीन अर्थसचिव सुमन शर्मा, कानुन सचिव भेषराज शर्मा, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतीशचन्द्र लाल सुमनसहितको बैठकले सम्झौता भइसकेको परिमार्जित २ लाख १५ हजार ९ सय ६५ मिलियन अमेरिकी डलरअनुसार परियोजना कार्यान्वयन गर्ने बदनीयतपूर्ण निर्णय गराएको अख्तियारको आरोप छ।
पछिल्लो समय भाइ प्रकाशशरण सभापति शेरबहादुर देउवा क्याम्पमा लागेर राजकीय र पार्टी प्रवक्ताको पद सम्हाल्ने जिम्मेवारी पाएका छन्। गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निकट मानिने दाइ महत भने पछिल्लो समय कांग्रेस राजनीतिबाट ओझेल छन्।