काठमाडाैं। सरकारले हालसम्म २ हजार ४३१ थान सवारी लाइसेन्स छापेकाे छ। यातायात व्यवस्था विभागले विभिन्न चरणमा गरी उक्त संख्यामा छापिएका सवारी लाइसेन्स सार्वजनिक गरेको हाे। जेनजी आन्दोलनमा भएको आगजनीका कारण अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि विभागले आफ्ताे फेसबुक पेजमार्फत लाइसेन्स सार्वजनिक गर्दै आएकाे छ। विभागले पहिलाे, दाेस्राे,तेस्राे र चाैथाे चरण गरी ‘हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमार्फत सेवाग्राहीलाई सवारी लाइसेन्सहरू छापिएकाे जानकारी दिने गरेकाे छ।
यसअघि विभागले लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेर स्वीकृति पाएका आवेदकलाई लाइसेन्स लिन आउन ७२ घण्टाभित्र स्वचालित सूचना पठाउने गरिएको थियो। जुन जेनजी आन्दोलनमा भएकाे आगजनी र ताेड्फाेडले पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध छ।
यस्तै, विभागले फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर लाइसेन्स लिनका लागि विभागमा उपस्थित हुन आग्रह गरेकाे छ। साथै, लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत अनिवार्य लिएर आउनुपर्ने विभागले बताएकाे छ।
धमाधम लाइसेन्स छाप्दै मुद्रण केन्द्र
सवारी लाइसेन्स छपाइकाे जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले लाइसेन्सहरु प्रिन्ट गर्ने कामलाई तिव्रता दिएकाे छ। पछिल्लाे समय मुद्रण केन्द्रले धमाधम लाइसेन्सहरु छाप्न थालेकाे हाे। मुद्रण केन्द्रले सरकारलाई हालसम्म २४३१ थान लाइसेन्सहरु हस्तान्तरण गरिसकेकाे छ। जसमा पहिलाे लट मंसिर ११ गते १ हजार ५६ थान सवारी लाइसेन्स छापेर सरकारलाई बुझाइ सकेकाे छ।
सेक्युरिटी प्रिन्टिङ प्रेसले मंसिर १६ गते ४९७ थान लाइसेन्स दाेस्राे लटमा हस्तान्तरण गरिएकाे थियाे। यस्तै, मुद्रण केन्द्रले छापिएका लाइसेन्समध्ये तेस्राे लटमा मंसिर १७ गते ३७५ र चाैथाे लटमा १९ गते ५६३ थान लाइसेन्स सरकारलाई बुझाएकाे छ।
गत कात्तिक १२ गते लाइसेन्स छपाइका लागि सरकार र मुद्रण केन्द्रबीच सम्झौता भएको थियो। मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण गराउनुपर्नेछ। काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ देखि लाइसेन्स छपाइ सुरु भएको थियो।