काठमाडौं। नेपालको लेखा क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ इतिहास रच्दै लेखा मापदण्ड बोर्ड नेपालका तत्कालीन पूर्वअध्यक्ष प्रकाशजंग थापा एसियाली-प्रशान्त मापदण्ड निर्धारक समूहको उपाध्यक्षमा निर्वाचित भएका छन्।
सन् २०२६ देखि २०२७ सम्मको कार्यकालका लागि उनी उपाध्यक्षमा नियुक्त भएका हुन्। यो नियुक्ति मालदिभ्समा सम्पन्न १७औं वार्षिक बैठकमा औपचारिक रूपमा अनुमोदन गरेको हो।
मालदिभ्समा बैठक
गत मंसिर ११-१२ गते नोभेम्बर (२७-२८, २०२५)मा मालदिभ्सको राजधानी मालेमा आयोजित एसियाली-प्रशान्त मापदण्ड निर्धारक समूहको १७औँ वार्षिक सम्मेलन भएको थियो। सोही बैठकमा थापाको नियुक्ति औपचारिक रूपमा अनुमोदन गरिएको हो।
यो नियुक्ति समूहको समझदारी ज्ञापन पत्रको प्रावधानअनुसार तथा एशिया र प्रशान्त महासागरीय क्षेत्रका सदस्य राष्ट्रहरूबीच सम्पन्न चुनाव प्रक्रिया पूरा भएपछि भएको हो।
बैठकमा एशिया र ओशिनिया क्षेत्रका विभिन्न मुलुकबाट लेखा मापदण्ड निर्धारक निकायका प्रतिनिधि सहभागी थिए। बैठकले थापाको योग्यता, अनुभव र नेतृत्व क्षमतालाई मान्यता दिँदै महत्त्वपूर्ण जिम्मेवारी सुम्पने निर्णय गरेको हो।
के हो एसियाली-प्रशान्त मापदण्ड निर्धारक समूह?
एसियाली-प्रशान्त मापदण्ड निर्धारक समूह एशिया र प्रशान्त महासागरीय क्षेत्रका ३१ देशका लेखा मापदण्ड निर्धारक संस्थाहरूको एक प्रतिष्ठित क्षेत्रीय संस्था हो। यस समूहको मुख्य उद्देश्य क्षेत्रीय तथा विश्वव्यापी स्तरमा उच्च गुणस्तरीय वित्तीय प्रतिवेदन प्रवर्द्धन गर्नु रहेको छ।
समूहको दृष्टिकोण पारदर्शिता, जवाफदेहिता र दक्षताका लागि सरोकारवालाको सार्वजनिक हित आवश्यकतामा योगदान पुर्याउने उच्च गुणस्तरीय वित्तीय प्रतिवेदनको प्रवर्द्धन गर्ने रहेको छ। यस समूहले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड तथा दिगोपन प्रतिवेदन मापदण्डको विकास र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
नेपालका लागि ऐतिहासिक क्षण
थापाको नियुक्ति नेपालका लागि ऐतिहासिक उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय लेखा र वित्तीय प्रतिवेदन क्षेत्रमा नेपालको बढ्दो प्रभाव र नेतृत्व क्षमतालाई उजागर गरेको छ। यो पहिलो पटक हो। यसअघि नेपालबाट कुनै व्यक्तिले यति प्रतिष्ठित क्षेत्रीय समूहको उपाध्यक्ष पदमा जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिएनन्।
यो नियुक्ति अन्तर्राष्ट्रिय वित्तीय र दिगोपन प्रतिवेदन समुदायमा नेपालको बढ्दो सहभागिता र थापाले व्यक्तिगत रूपमा गरेको योगदानको मान्यतासमेत हो। यसले नेपाली लेखा पेशाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान र सम्मान बढाउने छ।
कस्ता व्यक्ति हुन् प्रकाशजंग?
थापा नेपाली लेखा क्षेत्रको एक प्रतिष्ठित नाम हो। उनी फेलो चार्टर्ड लेखापाल हुन्। उनीसँग लेखा तथा लेखापरीक्षण पेशा, नीति सुधार र नियामकीय निरीक्षणमा तीन दशकभन्दा बढी अनुभव छ।