काठमाडौं। नेसनल जियोग्राफिक म्यागजिनले सेफ सन्तोष साहको परिकारलाई नेसनल जियोग्राफिक म्यागजिनमा समेटेको छ। नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेसनल जियोग्राफीले फिचर गरेको हो।
नेसनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० बढी ग्राहकलाई सेवा दिइरहेको छ।
सेफ सन्तोषले स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर प्रस्तुत गरेका परिकार नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियताको प्रमाण भएको नेसनल जियोग्राफिकको लेखमा उल्लेख छ।
सेफ सन्तोषले जनकपुर र मिथिला थालीको नाम विश्वमाझ चर्चामा आउँदा निकै खुसी लागेको बताए। ‘आफ्नै ठाउँ र स्थानीय खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदा निकै खुसी लागेको छ, अन्तर्राष्ट्रिय स्तरको म्यागजिनले मेरो रेस्टुरेन्ट, परिकार र जन्मथलोको प्रशंसा गर्दा गर्व महसुस भएको छ’, सेफ सन्तोषले भने।
नेपाली खानालाई विश्वमाझ चिनाउन गुणस्तरमा विशेष ध्यान दिँदै आफूले पनि अझै आवश्यक मिहिनेत र परिश्रम गर्दै अघि बढ्न आवश्यक भएको साहको भनाइ छ। साहले आगामी दिनमा नेपाली परिकारलाई विश्वमाझ पुर्याउन थप मिहिनेत गर्ने बताए।
म्यागजिनमा जनकपुरलाई धार्मिक, सांस्कृतिक र पाक–परम्पराले भरिपूर्ण सहरका रूपमा वर्णन गरिएको छ। जनकपुर प्रवेश गरेसँगै देखिने जानकी मन्दिरको भव्यता, त्यसमा देखिने कलाकारिताका साथै तीर्थयात्रुको उपस्थितिलाई समेत उक्त म्यागजिनमा प्रशंसा गरिएको छ।
म्यागजिनमा मिथिला भोजनलाई दक्षिण एसियाकै उत्कृष्ट स्थानीय परिकारका रुपमा प्रस्तुत गरिएको छ । यसअघि पनि लोन्ली प्लानेट अन्तराष्ट्रिय म्यागजिनमा जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीबद्ध गरिएको थियो ।
सेफ सन्तोषले मिथिला थालीलाई जनकपुरमा मात्र सीमित राखेका छैनन्। ‘मिथिला थाली बाइ सन्तोष शाह’ नामबाट, ललितपुरको झम्सीखेल, काठमाडौंको नक्साल र गौशालामा भेज मिथिला थाली सञ्चालन गरिएको छ।
सेफ सन्तोषले जनकपुरको माछाको स्वाद चखाउन जनकपुर फिस हाउस पनि नक्सालमा सञ्चालन गरेका छन्। यस्तै अबको केही महिनामा विरगञ्जमा पनि मिथिला थालीको नयाँ रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी रहेको साह बताउँछन्।