काठमाडौं। चीनसँग जोडिएको तातोपानी नाका विगत पाँच दिनदेखि पूर्ण रुपमा बन्द भएको छ। दिर्घकालिन रुपमा सडक मर्मत सुनिश्चतताको माग राख्दै स्थानीयले सडक अवरुद्ध गर्दा तातोपानी नाका पूर्ण रुपमा बन्द भएको हो।
गएको वर्षातमा कोदारीमा गएको पहिरो नियन्त्रणका लागि सरकारले बजेट सुनिश्चित नगरेको भन्दै २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। तातोपानी भन्सारका एक अधिकारीका अनुसार विगत ५ दिनदेखि भएको आन्दोलनले पूर्ण रुपमा प्रभावित भएको छ।
वर्षातको समयमा गएको पहिरो हटाउने बेला भौतिक, पूर्वधार तथा यातायात मन्त्रालयसहित विभिन्न निकायले स्थानीयसँग दिर्घकालिन समाधान हुने गरी पहिरो नियन्त्रण गर्ने र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म बजेट नआएको भन्दै आन्दोलन गरेको स्थानीयको भनाइ छ। सरकारले आफुहरुसँग गरेको प्रतिबद्धताअनुसार काम गर्न दबाब दिन सडक अवरुद्ध गरेर आन्दोलन सुरु गरिएको एक स्थानीयले बताए।
पटकपटक आश्वासन मात्र पाएको र काम भने नभएको भन्दै अब बजेट आएको प्रमाण र काम सुरु नभएसम्म सडक सुचारु नगर्ने अडान आफुहरुको रहेको ती स्थानीयको भनाइ छ। उनीहरूले पहिरो नियन्त्रण नगरी सडक सञ्चालन गर्दा बस्ती जोखिममा परेको भन्दै तत्कालै सडक मर्मत सम्भार र पहिरो नियन्त्रणको काम गर्न सरकारलाई आग्रह गरेका छन्।
यता तातोपानी भन्सारका एक अधिकारीका अनुसार अर्थमन्त्रालयबाट मंगलबार रकमान्तरको पत्र आएको बताउँदै सडक बन्ने निश्चित भएको छ। ‘हामी स्थानीयसँग नियमित रुपमा छलफल गरिरहेका छौं,’ ती अधिकारीले भने, ‘सम्भवत बिहीबारसम्ममा अर्थमन्त्रालयबाट आएकाे पत्रको आधारमा आन्दोलन स्थगित हुन सक्छ।’
कोदारी क्षेत्रमा रहेको करिब ४० देखि ५० मिटरको सडक पूर्ण रुपमा पहिरोले भत्काएको छ। अहिले सो क्षेत्रमा रोडा गिट्टि मात्र हालेर अस्थाई रुपमा सडक सञ्चालन गरिएको छ। त्यसलाई तत्कालै समाधानका लागि सडक मर्मतका लागि स्थानीयहरुले स्राेत सुनिश्चतताको माग राखेका हुन्। बिहीबार सडक विभागका प्रतिनिधि समेत तातोपानी नाकामा पुगेर स्थानीयहरुसँग वार्ता र संवाद गरी काम अगाडी बढाउने तयारी भइरहेको तातोपानी भन्सारले जनाएको छ।
अवरोधै/अवरोधको चपेटामा तातोपानी नाका
मंगलबार भन्सार एजेन्टहरुको आन्दोलनको कारण पनि नाकामा कुनै पनि काम भएको थिए। त्यसमाथि स्थानीयले गरेको आन्दोलनका कारण चीनतर्फबाट आएकाे अलि/अलि सामानको समेत जाँचपाँस रोकिएकाे छ। बुधबारबाट सहमति भएर एजेन्टहरु काममा फर्किए पनि स्थानीयको अवरोधले अर्को समस्या थपिएको छ। स्थानीयले सडकमा ढुंगा राखेर सडक अवरोध गरेका छन्।
केही समयअघि चीनतर्फबाट कम मात्रामा मालबाहक गाडी आएका थिए। चीनतर्फकै स्थानीयहरुले गरेको अवरोधका कारण न्यून संख्यामा गाडी आइरहेको बेलामा नेपालतर्फको स्थानीयहरुले अर्को आन्दोलन सुरु गरेको हो। गतवर्ष गएको बाढीको कारण तीन महिनाभन्दा बढी सो नाका बन्द भएको थियो। तातोपानी नाका चीनतर्फको सबैभन्दा ठूलो नाका हो।