काठमाडौं। सरकारले विभिन्न मन्त्रालय र निकायका आठ जना सचिवको सरुवा गरेको छ। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।
राउत करिब डेढ वर्षदेखि उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदै आएका थिए। उनको स्थानमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई पठाइएको छ।
यस्तै, निर्वाचन आयोगका सचिव महादेव पन्थलाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगिएको छ। उनी दिनअघि मात्रै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृत तोकिएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कमल पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्दा त्यहाँ कार्यरत सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सोही विभागका कार्यरत सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार पौडेललाई सहसचिवबाट सचिवमा बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएकी थिइन्।