काठमाडाैं। दशकौँदेखि हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट सोलुखुम्बु परिचित रहँदै आएको थियो। यसबाट पर्यटक मोहित हुन्थे। पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ।
‘अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,’ खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, ‘बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र? कति धेरै फरक भइसक्यो।’
दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो। तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए। विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रंग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ। सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन्।
‘भ्रमणकर्ताहरुको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किन की यो प्रकृया तीव्रगतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने ? रोकौँ कसरी रोक्ने? केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ।’ खुम्जुङका फुडोमा शेर्पाले भने। ’पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,’ सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भने, ‘हिउँले ढाकेका भाग घट्दै गएका छन्।’