काठमाडौं। विगत दुई वर्ष अर्थात २३ महिनादेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको छ।
इजरायली कम्पनीले बक्यौता रकम तिर्नुपर्ने, पुरानो सम्झौता नवीकरण गर्नुपर्ने लगायतका सर्तहरू स्वीकार्दै निगमले इन्जिन फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाएको निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले जानकारी दिए।
जुनसुकै हालतमा इन्जिन फिर्ता ल्याउन पर्यटन मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएसँगै द्रुत गतिमा काम भइरहेको महाप्रबन्धक श्रेष्ठको भनाइ छ। इजरायल एरोस्पेस इन्डस्ट्रिजले इन्जिन फिर्ता ल्याउनका लागि पहिलाको बक्यौता भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो। जसअनुसार निगमले केही दिनअघि मात्र एलसी खोलेर बक्यौता रकम २.१ मिलियन अर्थात २१ लाख डलर इजरायलमा पठाएको उनको भनाइ थियो।
‘बक्यौता रकम र सम्झौता नवीकरण नगरी छलफलमै नबस्ने इजरायली कम्पनीको अडान राखेको थियो,’ महाप्रबन्धक श्रेष्ठले भने, ‘अहिले सबै प्रक्रिया पूरा भइसकेकाले निगमको इन्जिन ल्याउने प्रक्रिया अगाडि बढेको छ।’
इजरायली कम्पनीसँग छलफल गर्न वार्ता समिति
शाक्यले इजरायली कम्पनीसँग छलफल गर्नका लागि निगमको प्राविधिकतर्फका प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाको संयोजकत्वमा वार्ता समितिनै गठन गरेर प्रक्रियाअगाडि बढाएको बताए। निर्धारित समयमै इजरायली कम्पनीले इन्जिन मर्मत नगर्दा समस्या भएकाले उनीहरुको तर्फबाट पनि क्षतिपूर्ति भराउनका लागि दुई पक्षीय छलफल चलिरहेको बताए।
तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीले इजरायली कम्पनीले निर्धारित समयमा इन्जिन मर्मत नगरेको भन्दै भुक्तानी रोकेको दाबी गरिरहेका थिए। इजरायली कम्पनीले पनि आफुहरुको तर्फबाट केही ढिलाई भएको स्वीकार गर्दै आएका छन्। त्यसैले मर्मतबापत लाग्ने शुल्कमा केही घटाउन प्रस्ताव गरिएको उनले बताए।
यस्तै, भाडामा ल्याइएको इन्जिनको ५/६ महिनाको भाडासमेत मिनाहा गर्न प्रस्ताव राखिएको उनले बताए।
डिसेम्बरभित्रै ल्याउने तयारीमा निगम
निरन्तर रुपमा वार्ता र छलफल भइरहेको कारणले डिसेम्बरभित्रै इन्जिन ल्याउने तयारी गरिएको जनाएको छ। भाडामा दैनिक करोडौं रुपैयाँ तिरेर जहाज सञ्चालन गरिरहेको बेला आफ्नै इन्जिन ल्याएपछि ५ देखि ७ वर्षसम्मका लागि ढुक्क हुने महाप्रबन्धक श्रेष्ठको भनाइ छ।
‘अहिले मेरो मुख्य ध्यान इन्जिन फिर्ता ल्याउनेमा छ,’ महाप्रबन्धक श्रेष्ठले भने, ‘जुनसुकै हालतमा डिसेम्बरभित्रै ल्याइसक्छौँ। भाडाको इन्जिन फिर्ता पठाउँछौँ।’ निगमले माघ २०८० देखि ‘लुम्बिनी’ जहाजमा भाडाको इन्जिन राखेर उडान भर्दै आएको थियो। उक्त इन्जिनको दैनिक भाडा २४ सय अमेरिकी डलर (करिब ३ लाख ३८ हजार रुपैयाँ) पर्छ।
जहाज उडेको घण्टा र उडान चक्रअनुसार थप शुल्क पनि जोडिँदै जाने व्यवस्था छ। सम्झौताअनुसार यो इन्जिन तीन महिनाका लागि मात्र भाडामा लिइएको थियो। तर, हालसम्म सोही इन्जिनमार्फत जहाज सञ्चालनमा रहँदै आएको छ।