काठमाडौं। पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन्। मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माण स्थलगत निरीक्षणका क्रममा व्गयवसायीले यस्ताे प्रतिबद्धता जनाएका हुन्।
मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरकेा थिए। मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए।
उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे। पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहनु भएका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए। चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभी)सँग २०७५ असार २४ मा १७ करोड २२ लाख (करसहित)मा ठेक्का सम्मझौता भएको थियो।
सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७८ असारभित्र सम्पन्न गर्नु पर्ने थियो। पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नुपर्नेछ। पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ।
मनमत-कलैया-मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग
हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत-कलैया-मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाबाट माग गरिएको छ।
मधेस प्रदेश बारा, पर्सा र रौतहट सडक, सिँचाइ र विद्युत आयोजनाहरुको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका मन्त्री घिसिङसमक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठूलो सास्ती बेहोर्नुपरेको गुनासाे गरेका थिए।
मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए।
करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २०७८ पुस २७ मा सप्तकोशी जलाधार-ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो।
२०७९ माघ १ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेकका सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद २०८२ चैत ४ मा सकिँदैछ। सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ।
निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ। ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो। त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ।