काठमाडौं। देशभरका सडक र पुलका २३५ वटा आयोजना रुग्ण छन्। यी आयोजनामध्ये २२७ वटा रुग्ण आयोजनाको सम्झौता रकम १८ अर्ब ३३ करोड ४२ लाख १६ हजार ३७७ रुपैयाँ छ।
बाँकी ८ वटा आयोजनाले भने रकम उल्लेख नगरेको सडक विभागले जनाएको छ। सडक विभागअर्न्तगतका विभिन्न कार्यालयमध्ये सबैभन्दा बढी रुग्ण आयोजना रहेको सडक डिभिजन काठमाडौंको हो। यो कार्यालयको ५७ वटा आयोजना रुग्ण अवस्था छन्। यी आयोजनाले सम्झौता रकम जम्मा रकम १ अर्ब ३४ करोड ४ लाख १७ हजार २०६ रुपैयाँ रहेको छ।
राजधानी काठमाडौंको सडक पूर्वाधार व्यवस्थापन गर्ने यो कार्यालय सम्झौता रकमका आधारमा तेस्रो स्थानमा छ। काठमाडौंमा नयाँ सडक निर्माणभन्दा पनि स्तरोन्नति, मर्मत, विस्तार र ट्राफिक व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएको छ। यो कार्यालयअर्न्तगत ठूला संरचना जस्तै ओभरपास, फ्लाईओभर, रिङरोड विस्तारमा रकम बढी खर्च भइरहेको देखिन्छ। सबै भन्दा धेरै आयोजना रुग्ण हुनुमा साइट क्लियर नहुनु रहेको विभागले जनाएको छ।
सडक पूर्वाधार विकासमा हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका ठूला आयोजनामा सबैभन्दा धेरै बजेट देखाउँछ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, इटहरी, सुनसरीअर्न्तगत ८ वटा आयोजना रुग्ण भएका छन्।
यी आयोजनाले रुग्ण आयोजनाको ठेक्का सम्झौता रकम १८ अर्बमध्ये करिब २०.१४ प्रतिशत ओगटेका छन्। अर्थात् ३ अर्ब ६९ करोड २८ लाख ९१ हजार ५५२ रुपैयाँ रहेकाे विभागको तथ्यांक छ। यो कार्यालय सबैभन्दा महत्त्वपूर्ण र सर्वाधिक वित्तीय जिम्मेवारी भएको कार्यालय हो।
कुल ठेक्का रकमको पाँच भागको एक भाग यसै कार्यालयले ओगटेको छ। यसले हुलाकी राजमार्ग (तराई–मधेसको जीवनरेखा) को पूर्वी खण्डमा ठूला र महँगा निर्माण परियोजना सञ्चालन भइरहेको देखिन्छ। यस्तै, पुष्पलाल (मध्यपहाडी) आयोजना निर्देशनालय, योजना कार्यालय, पाँचथरअर्न्तगत ५ वटा आयोजना रुग्ण अवस्थामा पुगेका छन्। यी आयोजनाको ठेक्का सम्झौता रकम १ अर्ब ८४ करोड ८ लाख २५ हजार ५४० रुपैयाँ रहेको विभागले जनाएको छ। यो कार्यालय दोस्रो स्थानमा छ र यसको हिस्सा १० प्रतिशत भन्दा बढी छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास, गुल्मीको १ वटा आयोजना कुल ठेक्का रकम १ अर्ब ३० करोड ७९ लाख १४ हजार २३२ रुपैयाँ रहेको विभागले जनाएको छ। यो कार्यालय चौथो स्थानमा छ। मदन भण्डारी राजमार्ग नेपालको अर्को महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो।
सडक डिभिजन जनकपुरको कुल ठेक्का रकम १ अर्ब ०८ करोड ५३ लाख ४९ हजार ७७६ रुपैयाँ रहेको छ। यसअर्न्तगत २१ वटा आयोजना रुग्ण भएका छन्। यो कार्यालय पाँचौं स्थानमा छ, जसको ठेक्का रकम एक अर्बभन्दा बढी रहेको छ।