काठमाडौं। भ्रष्टाचार अन्त्यसहित विभिन्न माग राख्दै भदौ २३ र २४ गते भएकाे आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो। सरकार बनेलगत्तै भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक नेता दलाई लामाले बधाई दिए।
नेपालमा सरकार परिवर्तन हुँदा भारत र चीन सरकारसहित विभिन्न मुलुकका राष्ट्र प्रमुखहरुले बधाई दिनु सामान्य नै थियो। तर, धार्मिक नेता लामाले औपचारिक रुपमा बधाई दिएको भने पहिलो पटक थियो। र, धार्मिक नेताले दिएको बधाईलाई चौतर्फी रुपमा विरोध जनाउँदै चीन विरोधी गतिविधिको सिकार नेपाल भएको चर्चा समेत चल्यो।
बधाईको विषय सेलाउन नपाउँदै आन्दोलनमा घुसपैठ भएको र खुलेआम रुपमा युवाहरुले पेस्तोल बोकेको भिडियोहरु सार्वजनिक भए। प्रहरीले खोजी गर्यो र पेस्तोल प्रर्दशन गर्ने व्यक्ति दावा तेन्जिङ पक्राउ परे। जब दावा पक्राउ परे त्यो बेला थाहाँ भयो उनी टिओबी (तिब्बती ओरिजिनल ब्लड) समूहमा आबद्ध हुन्। जेनजी आन्दोलनको क्रममा नेतृत्वकर्ताको रुपमा रहेको र बुलेट बाइक चलाएर आन्दोलनलाई थप भड्काउने भूमिका निर्वाह गरेका थिए।
त्यसपछि रिसायो चीन
चीन विरोधी गतिविधि नेपालमा खुलेआम हुन थालेपछि छिमेकी मुलक चीन नेपालसँग रिसायो। नेपाल जोडिएको प्रमुख तातोपानी नाकामा सांकेतिक रुपमा अवरोध सुरु गर्यो। त्यसअघि रसुवा नाकामा आएको बाढीले त्यहाँको भत्काएको पुल एक महिनामा बनाएर नेपालको आवातजावत सहज बनाउने घोषण पनि गरेको थियो। तर, जेनजी आन्दोलनपछि उक्त पुल समेत बनाउन अनइच्छुक भइरहेको छ। त्यसका अलवा २०७२ सालमा गएको भूकम्प र कोभिड १९ को बेला पनि सो नाका लामो समयसम्म बन्द गरेको चीनले अहिले पुनः सो नाकामा अवरोध सिर्जना गरिरहेको छ।
चीनसँग निकट रहेका एक व्यवसायीकाअनुसार हाल बनेको अन्तरिम सरकार दलाई लामाको समर्थन रहेको र नेपालमा चीन विरोधी गतिविधि खुलेआम हुँदा पनि कुनै कारबाही नगरेको भन्दै रुष्ट बनेको छ। अहिले तातोपानी नाका जोडिएको क्षेत्रमा भौतिक रुपमा कुनै पनि अवरोध छैन। तर, चीनले खासाबाट दैनिक ५ देखि ७ वटा गाडी मात्र पठाउँदै आएको छ। जसको कारण चीनबाट नेपालमा सामान ल्याएर बिक्री गर्ने व्यवसायीहरु मारमा पर्दै आएका छन्।
सुरुसुरुमा स्थानीयहरुले नै अवरोध गरेर चीनबाट गाडी कम पठाएको प्रतिक्रिया दिए पनि वास्तवमा नेपालको कुटनीतिकसँग चित्त दुखाएको ती व्यवसायीको भनाइ छ। यसका लागि सरकारले तत्कालै कुटनीतिक पहल गरी धेरैभन्दा धेरै गाडीहरु आउने वातावरण बनाउन समेत ती व्यवसायीको अनुरोध छ।
तातोपानी नाका क्षेत्रमा लामो समयदेखि व्यवसाय गर्दै आएका अर्का व्यवसायीले पनि कुटनीतिक पहलमार्फत अहिलेको समस्या समाधान गर्नुपर्ने बताउँछन्। चीन विरोधी गतिविधिलाई रोक्न र चीनलाई विश्वस्त तुलाउनका लागि अन्तरिम सरकारले छिटोभन्दा छिटो पहलकदमी गरेर काम गर्नुपर्ने उनको भनाइ छ।
चिनियाँ लगानीकर्ताको मात्र सामान छुट्छ
चिनियाँ लगानीकर्ताहरुसँगको सहकार्यमा आउने सामानहरु भने निर्वाध रुपमा छुटिरहेको व्यवसायीहरुको दाबी छ। ‘जसले चीनका व्यवसायीहरुलाई साझेदार बनाएका छन्, तिनीहरुको केही गाडीहरु भने आएको पाइन्छ,’ ती व्यवसायीले भने, ‘नेपाली लगानीकर्ताहरुको मात्र भने रोकिएको छ।’
तातोपानी नाकामा स्थानीय अवरोध कायमै
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको ठाडो निर्देशनमा शुक्रबार इको पहिरो नियन्त्रणका लागि ठेक्का आव्हान भए पनि त्यहाँका स्थानीयले अवरोध हटाएका छैनन्। उनीहरुले ठेक्का हाेइन डोजर नै सञ्चालनमा आएपछि मात्र अवरोध हटाउने अडान राखेका कारण शुक्रबारबाट खुल्ने भनिएको नाका अझै नखुलेको तातोपानी नाकाका एक अधिकारीले जानकारी दिए।
स्थानीयहरुले दीर्घकालीन रुपमा सडक मर्मत र पहिरो नियन्त्रण माग गर्दै २० गतेदेखि नाका पूर्ण रुपमा बन्द गराएका छन्। स्थानीयले सो नाका सञ्चालन खुला गराए पनि चीनियाँ पक्ष खुसी नभएसम्म पूर्ण रुपमा सो नाका सञ्चालनमा आउन नसक्ने व्यवसायीहरुको भनाइ छ।