काठमाडौं। सवारी लाइसेन्स छाप्ने जिम्मा लिएको सुरक्षण मुद्रण केन्द्रले करिब डेढ महिनाको अवधिमा लगभग पाँच हजार लाइसेन्स छापेको छ। गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाई सुरू गरेको केन्द्रले मंसिर २८ गतेसम्म चार हजार ९०० थान लाइसेन्स छापेको हो।
यातायात व्यवस्था विभागको भवनमा आगलागी भएपछि ठप्प बनेको लाइसेन्स छपाई कार्य पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सुरु भएको छ। ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्यसहित काम सुरु भएकोमा केन्द्रको मसिनबाट ३७ दिनमा ४९ सय थान लाइसेन्स छापिएको छ।
केन्द्र र विभागबीच गत कात्तिक दोस्रो साता ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। लाइसेन्स छपाई कार्य सुस्त भएकाले बाँकी ११ लाख ९५ हजार थान लाइसेन्स प्रिन्ट पाँच महिनामा सम्भव होला? भन्ने प्रश्न पनि उठिरहेको छ।
गत कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण केन्द्रमा लाइसेन्स छपाई कार्यको उद्घाटन गरेपछि सुरु भएको सवारी लाइसेन्स अहिलेसम्म लगभग ४९ सय थान मात्र छापिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राई बताउँछन्।
‘गत कात्तिक २१ गते मन्त्री ज्युले लाइसेन्स छपाई उद्घाटन गरेपछि अहिलेसम्म चार हजार ९०० जति छापिएर आएको छ,’ उनले भने, ‘विभिन्न टेक्निकल समस्याका कारण बिचमा रेगुलर प्रिन्ट हुन सकेन।’ विभागबाट डेटा पनि भने जसरी पठाउन नसकेको उनको भनाइ छ।
विभागका अनुसार जेनजी आन्दोलन हुनुअघि विभाग आफैले छाप्दाको जस्तो सहज अवस्था नभए पनि केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने आधारमा प्रिन्ट कार्यलाई सकारात्मक रूपमा लिइएको छ।
सूचना अधिकारी राईका अनुसार सुरुवाती चरणमा विभागबाट डाटा पठाउन र उता प्रिन्ट भएर आउन विभिन्न प्राविधिक समस्याका कारण ढिलाई भएको थियो। प्रिन्टको काम नियमित नभई ५/६ दिनको अन्तरालमा भइरहेको उनले बताए।
सुरक्षण मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भए पनि विभागले डाटा नपठाउँदा लाइसेन्स छपाइले तीव्रता पाउन सकेको छैन। विभागले राम्रोसँग डाटा उपलब्ध गराउन नसकेको र केन्द्रमा पनि विभिन्न टेक्निकल समस्या आएकाले ठूलो परिमाणमा लाइसेन्स छाप्न नसकेको विभागले जनाएको छ।
विभागका अनुसार जेनजी आन्दोलन हुनुअघि विभाग आफैले छाप्दाको जस्तो सहज अवस्था नभए पनि केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने आधारमा प्रिन्ट कार्यलाई सकारात्मक रूपमा लिइएको छ।
एक वर्षभन्दा कम म्याद भएको लाइसेन्स किन नछापिने?
हाल सुरक्षण मुद्रण केन्द्रबाट विशेषगरी अत्यावश्यक (इमर्जेन्सी) लाइसेन्स मात्र छापिएर आएको छ। मुख्य फोकस विदेश जानेहरुलाई गरिएको छ। नेपालमै बस्ने तर एकदमै इमर्जेन्सी परेका सेवाग्राहीले विभागमा आएर जानकारी गराएमा उनीहरुको पनि लाइसेन्स तुरुन्तै छापिने छ। नेपालभित्र रसिद देखाएर पनि सवारी चलाउन मिल्ने भएकाले पहिलो प्राथमिकता विदेश जाने नागरिलाई गरिएको सूचना अधिकारी राईले बताए।
लाइसेन्स प्रिन्ट गर्दा ४/५ महिनाका लागि मात्र छाप्दा पनि सरकारको लागत लाग्छ। अहिले त लाइसेन्सको म्याद १० वर्ष पुगिसकेको छ।
‘अहिले १ वर्षभन्दा कम म्याद भएका लाइसेन्स एक वर्षपछि ‘एक्सपायर’ हुने र फेरि छाप्नुपर्ने हुन्छ। त्यस कारण पनि एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स छापिन्न्,’ उनले भने, ‘जेनजी आन्दोलनभन्दा पहिले पनि एक वर्ष मात्र म्याद भएको लाइसेन्स प्रिन्ट हुँदैन थियो।,’ अहिले पनि एक वर्षभन्दा कम समय भएको लाइसेन्स प्रिन्ट नहुने उनको भनाइ छ।
लाइसेन्स प्रिन्ट गर्दा ४/५ महिनाका लागि मात्र छाप्दा पनि सरकारको लागत लाग्छ। अहिले त लाइसेन्सको म्याद १० वर्ष पुगिसकेको छ। त्यस कारण केही समय नागरिक एपबाट देखाएर होल्ड गरेर १० वर्षका लागि छाप्न उपयुक्त हुने भएकाले एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स प्रिन्टलाई प्राथमिकता नदिइएको विभागको भनाइ छ।
सरकारसँग २५ लाखभन्दा धेरै लाइसेन्स छाप्न बाँकी छ। त्योमध्ये विभागले १२ लाख थान छपाईअघि बढाएको छ। तर, बाँकी १३ लाख कहिले छापिन्छ? टुंगो छैन।