काठमाडौं। एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको मतदान प्रक्रिया लम्बिएपछि आज बिहान ८ बजेका लागि सारिएको छ।
मंगलबार बिहान ११ बजेदेखि सुरु गरिने भनिएको पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारेर आज बिहान ८ बजेदेखि हुने भनिएको हो। मंसिर २९ देखि सुरु भएको एमाले महाधिवेशन भोटिङ मेसिनको प्राविधिक गडबडीले दुई दिन पछि धकेलिने भएको छ।
एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मतदान मेसिनमा देखिएको प्राविधिक गडबडी र असाध्य जाडो हुँदा आज बिहान ८ बजेदेखि मतदान गर्ने सहमति मंगलबार अबेर जुटेको बताइएको छ। मंगलबार साँझ ७ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्राविधिक समस्याका कारण समयमै भएन। एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।
आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा एमाला महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्न मतदान गर्नेछन्। एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन्। एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ। विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तीमा २ घन्टामा परिणाम सार्वजनिक हुने बताइएको छ।
११औं महाधिवेशनमा निवर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको छ। दुवैले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन्। महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिवका साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।
५ जना उपाध्यक्षका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी परेको छ।
३ जना उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।
९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।
एमालेमा ओली र पोखरेल समूहबीच तीव्र प्रतिस्पर्धा हुने ठानिएको छ।