काठमाडौं। व्यावसायिक घराना लक्ष्मी ग्रुपले एकपछि अर्को ब्रान्डका गाडी भित्र्याइरहेको छ। पछिल्लो समय विभिन्न ब्रान्ड भित्र्याइरहेको लक्ष्मी ग्रुपले चीनको प्रसिद्ध ग्रुप बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी (बीएआईसी) अन्तर्गतको हाइब्रिड गाडी बीजे ३० र विद्युतीय गाडी (ईभी) आर्कफक्स टी१ ल्याउने भएको हो।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले अबको दुई महिनाभित्र चिनियाँ हाइब्रिड गाडी बीजे ३० नेपाल आइपुग्ने जानकारी दिए। ‘अफरोड यात्रा गर्न चाहनेहरूलाई लक्षित गरी ल्याउन लागेको बीजे ३० पूर्ण रूपमा हाइब्रिड गाडी हो,’ जनरल म्यानेजर थपलियाले भने, ‘यसको मूल्य अहिले नै नेपालमा कति पर्छ भन्ने निश्चित भइसकेको छैन, तर प्रतिस्पर्धात्मक मूल्यमा आउनेछ।’
विद्युतीय सवारी (ईभी) सँगै उपभोक्ताहरूले हाइब्रिड गाडी पनि रोज्न थालेपछि लक्ष्मी ग्रुपले चीनमा निर्मित बीजे ३० गाडी ल्याउन लागेको हो। लक्ष्मी ग्रुपले बीजे ३० का लागि सबै सम्झौता सकेर काठमाडौंको नक्सालमा सोरुम निर्माण समेत सुरु गरिसकेको छ।
बीएआईसी ग्रुपले चीनमा हुन्डाई र मर्सिडिज–बेन्ज जस्ता विश्वप्रख्यात अटोमोबाइल ब्रान्डसँग सहकार्य गर्दै आइरहेकोले नेपाली उपभोक्ताको रोजाइमा बीजे ३० सहजै पर्ने विश्वास लक्ष्मी ग्रुपले लिएको छ। बीएआईसी चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी हो। बीएआईसी ग्रुपले उत्पादन गर्दै आएको बीजे ८० ब्रान्डको गाडी चिनियाँ राष्ट्रपति सी जिनपिङले सैनिक परेड निरीक्षणका लागि प्रयोग गर्ने आधिकारिक गाडी हो।

यस्तै, बीएआईसी अन्तर्गतकै विद्युतीय सवारी आर्कफक्स टी१ पनि नेपालमा आउने निश्चित भएको छ। सुरुमा बीजे ३० ल्याउने र त्यसपछि मात्र आर्कफक्स टी१ ल्याउने तयारी भएको जनरल म्यानेजर थपलियाले जानकारी दिए। लक्ष्मी ग्रुपले हाल हाइब्रिड र प्लगइन हाइब्रिडमा बिएमडब्लु विक्रि गरिरहेको छ।
विद्युतीय सवारीमा चिनियाँ गाडीको दबदबा रहेको बेला लक्ष्मी ग्रुपले सस्तोमा राम्रो एसयूभी खोज्नेहरूलाई लक्षित गरी आर्कफक्स टी१ ल्याउन लागेको जनाएको छ। यो गाडी असारभित्र नेपाल आइपुग्ने कम्पनीले जनाएको छ। आर्कफक्स टी१ को मूल्य अहिले सञ्चालनमा रहेका एसयूभीभन्दा आकर्षक हुने बताइए पनि नेपाल नआएसम्म निश्चित नहुने कम्पनीको भनाइ छ।
यस्तो छ बीजे ३० को विशेषता
बीजे ३० लोकप्रिय एसयूभीहरू किया स्पोर्टेज र टोयोटा र्याफ ४ भन्दा केही ठूलो रहेको छ। यसको लम्बाइ ४,७०० मिलिमिटरभन्दा बढी र व्हीलबेस २,८२० मिलिमिटर रहेको छ। डिजाइनलाई साहसिक यात्राका लागि उपयुक्त बनाइएकाले कम्पनीले यसलाई ८८‘एड्भेन्चर एसयूभी’८८का रूपमा परिचित गराएको छ।
बीजे ३० परम्परागत अफरोड गाडीहरूमा प्रयोग हुने भ¥याङ–फ्रेम चेसिसमा आधारित नभई मोनोकोक संरचनामा निर्माण गरिएको छ। यसमा २१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको दाबी गरिएको छ, जसले अफरोड क्षमतामा पर्याप्त सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

यसमा १.५ लिटर टर्बो इन्जिनलाई इलेक्ट्रिक मोटरसँग संयोजन गरिएको छ। संयुक्त रूपमा यसले ३०१ किलोवाट शक्ति र ६८५ न्युटन–मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। भित्री संरचनामा पनि आधुनिक प्रविधिको प्रयोग गरिएको छ। गाडीमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र केन्द्रमा राखिएको १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन समावेश गरिएको छ। यी प्रणालीलाई शक्ति दिन क्वालकम स्न्यापड्रैगन चिप प्रयोग गरिएको कम्पनीले जनाएको छ।
व्यावहारिकताका हिसाबले पनि बीजे ३० आकर्षक देखिन्छ। सिटहरू फोल्ड गर्दा १,४९६ लिटरसम्म कार्गो स्पेस उपलब्ध हुने कम्पनीको दाबी छ। सिटहरू पूर्ण रूपमा समतल हुने भएकाले केबिनलाई अस्थायी ओछ्यानका रूपमा समेत प्रयोग गर्न सकिने सुविधा यसको विशेषता मानिएको छ।
यस्तो छ आर्कफक्स टी१ को विशेषता
आर्कफक्स टी१ पाँच सिटे कम्प्याक्ट ह्याचब्याक हो, जसलाई शहरमा सजिलै चलाउन मिल्ने गरी डिजाइन गरिएको छ। यसको डिजाइन आधुनिक र स्पोर्टी छ। यसमा ७० किलोवाट र ९५ किलोवाट क्षमताका इलेक्ट्रिक मोटर विकल्प उपलब्ध छन। ब्याट्री क्षमता ३३.४ देखि ४२.३ किलोवाट–घण्टा रहेको छ र एक पटक चार्जमा ३२० देखि ४२५ किलोमिटर यात्रा गर्न सकिन्छ।
डीसी फास्ट चार्जिङ प्रयोग गर्दा ३० देखि ८० प्रतिशत चार्ज करिब १६ देखि १७ मिनेटमै पूरा हुने बताइएको छ। इन्टेरियरमा टचस्क्रिन, डिजिटल क्लस्टर, एआई भ्वाइस असिस्टेन्ट, प्यानोरामिक सनरूफ र स्मार्ट पार्किङ प्रणाली जस्ता सुविधाहरू छन्।