काठमाडौं। पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेपछि हवाई सेवा प्रभावित बनेको छ। रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भैरहवामा भिजिबिलिटी १०० मिटर मात्रै हुँदा उडान अवतरण प्रभावित बनेको हो।
हुस्सु–कुहिरोका कारण पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको कार्यालयले बताएको छ। धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृश्य) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको छ भने सबैभन्दा धेरै भैरहवा विमानस्थलबाट हुने उडान प्रभावित बनेको छ।
आज बिहान ५ः४५ बजे भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै रहेकोे जल मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले बताइन्।
कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी रहेको उनको भनाइ छ। मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ। दिउँसोपख हुस्सु कुहिरो क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दृश्यता एक किलोमिटरभन्दा बढी भए हुस्सु र कम भए कुहिरो भनिने गरेको छ। हुस्सुभन्दा कुहिरो बाक्लो हुने हुँदा हवाई यातायात पूर्ण प्रभावित हुन्छ। हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुन्छ। सोही कारण पश्चिम तराईमा मंगलबार बिहानैदेखि धुम्म हुस्सु लागेको छ।
धनगढीमा मंगलबार दिउँसो पौने ३ बजेसम्म पनि भिजिबिलिटी १५ सय मिटर मात्र थियो। सोमबार बेलुकादेखि नै धनगढीमा हुस्सु लगेर हवाई उडान प्रभावित भएको थियो।
आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ।