काठमाडौं। तनहुँको बन्दीपुरस्थित बन्दीपुर केबलकार एन्ड टुरिजमले सञ्चालन गर्दै आएको बन्दीपुर होटल भारतीय अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री’ ब्रान्डमा सञ्चालनमा आउने भएको छ।
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल्सबीच सम्झौता भएको हो।
होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको हो बन्दीपुर होटलले नेप्सेलाई पठाएको सूचनामा उल्लेख छ।
सम्झौतामा नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा भएको व्यवस्थापन सम्झौतामा बन्दीपुर केबलकारका चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्सका प्रमुख कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार होटलको व्यवस्थापन, ब्रान्डिङ, अन्तरराष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संसाधन विकास लेमन ट्री होटल्समार्फत हुनेछ।
यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यको रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
१०० बढी होटल र ९ हजार बढी कोठासहित भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरसँगको सहकार्यले बन्दीपुरको पर्यटन नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, आम्दानीको स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।
सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तरराष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी अवसर सृजना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार हुने अनुमान गरिएको छ।