काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारलाई गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देशभरका सञ्चार माध्यममा भएको क्षतिको विवरण बुझाएको छ।
महासंघले संकलन गरिएको विवरणअनुसार आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख गरेको छ।
त्यसैगरी, महासंघका संरचनामार्फत संकलित र क्षति पुगेका संचार संस्थाले महासंघलाई उपलब्ध गराएको तथ्यांकअनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनी भई पूर्ण नष्ट भएको छ। यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिन्छ।
घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्। तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ।
सञ्चार जगतले यस घटनाबाट भोग्नु परेको क्षति आर्थिक हिसाबले मात्र मापन गर्न सम्भव छैन। महासंघले हालसम्म संकलन गरेको विवरणअनुसार सञ्चार संस्था र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।
यस सम्बन्धी क्षतिको विस्तृत विवरणसूची संलग्न गरी आजै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको छ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधि मण्डलले क्षति पुगेका सञ्चार संस्था र पत्रकारलाई विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको थियो।
मन्त्री खरेलले सरकारले क्षति पुगेका सञ्चार संस्थाहरु र निजी सवारी जलेका पत्रकारलाई राहत दिनेबारे सरकार सकरात्मक रहेको प्रतिवद्वता जनाएका थिए।