काठमाडौं । बन्दावन्दी (लकडाउन) जारी रहेपछि सरकारले चैत र वैशाख महिनामा तिर्नुपर्ने करको समयावधी बढाएर २५ जेठसम्म पुर्याएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले कर तिर्ने समय पुनः १ महिना थप्ने निर्णय गरेको हो ।
यसअघि सरकारले भ्याट, आयकर र अन्तशुल्क तिर्नुका लागि समय बैशाख २५ गतेसम्म बढाएको थियो । बैशाखमा पनि लकडाउन जारी भएपछि कर तिर्ने समय बढाएको हो । यस्तै चैतभित्र बुझाउनु पर्ने संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको दाखिला गर्नुपर्ने रकमको समय बढाएर जेठ मसान्तसम्म पुर्याइएको छ ।
लकडाउनले गर्दा करदाता बैंक वा कर कार्यालयसम्म पुग्न नसकेपछि सरकारले समय थप गरेको हो । लकडाउनले देशको आर्थिक गतिविध ठप्प छ । यसअवधिमा कर तिर्न आएमा कर कार्यालयहरुले व्यवस्था मिलाएका छन ।
मूल्य अभिवृद्धि कर ऐन अनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ र फागुन महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिा गर्ने म्याद जेठ २५ सम्म सरेको हो ।
मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐन अनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म थप गरिएको छ ।
अन्तशूल्क ऐन अनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशूल्क दाखिला गर्ने अवधि २५ जेठसम्म सरेको छ ।
आयकर ऐन अनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ ।
आर्थिक ऐन अनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क तथा दूर संचार सेवा दस्तुर बुझाउने म्याद समेत २५ जेठसम्मका लागि थपिएको छ ।
कर अधिकृतले गरेको कर निर्धारण उपर चित्त नबुझे कर पुनरावलोकनका लागि दिन सकिने म्याद समेत लकडाउन सकिएको १५ दिनसम्म थप हुने निर्णय गरिएको छ ।