नेपालगञ्ज। नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको कन्क्लेभमा नेपाल र भारतका पर्यटन साझेदार तथा सरोकार भएका निकायका प्रतिनिधि सहभागी छन्।
कन्क्लेभको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले धार्मिक पर्यटनका हिसाबले नेपालगञ्ज प्रख्यात रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न हामी सबैको साझा प्रयास, समन्वय र सहकार्य आवश्यक पर्ने बताए।
उनले धार्मिक पर्यटनलाई कसरी बढाउन सकिन्छ भनेर उपमहानगरले प्राथमिकतामा राखी योजना बनाइरहेको जानकारी दिँदै नेपालगञ्जमा भारतीय पर्यटकलाई सहज वातावरण निर्माणको प्रयत्न गरिने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बाँकेमा पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे।
भारतीय टुर अप्रेटर शैलेश अग्रवालले भारतीय पर्यटकलाई हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिन नहुने बताए। टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा सन्देह राख्नुपर्ने अवस्थाको अन्त्य जरुरी रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई कानुनी झमेला भन्दा पारिवारिक वातावरण दिनुपर्ने बताएका छन्।
होटल एसोसिएसन अफ नेपाल (हान), बाँकेका दिवाकर खनालले पशुपति, केदारनाथ, जनकपुर अयोध्या र लुम्बिनी बोधगया सर्किट बनाएर पर्यटन विकास गर्न सकिनेमा जोड दिए। वागिश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटनको विकास हुने बताए।
नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले दुवै देशका पर्यटन साझेदार, सरोकार भएकालाई एउटै थलोमा ल्याएर पर्यटन प्रवर्द्धनमा देखिएका अवरोध हटाउन सहयोग पुग्ने उल्लेख गर्दै नेपाल र भारतबीचका पर्यटन व्यवसायीमा अन्तरसम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए।
तीस जना भारतीय टुर अपरेटरसहितको सो कार्यक्रममा ३२ वटा स्टलसमेत राखिएका छन्। टुर अपरेटरलाई ग्रामीण पर्यटनका बारेमा जानकारी दिँदै बाँके राष्ट्रिय निकुञ्जमा आइतबार जङ्गल सफारी गराउने कार्यक्रम रहेको पूर्वअध्यक्ष सिग्देलले बताए।
दुवै देशको पर्यटन व्यवसायको अनुभव आदानप्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सीमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्नका लागि नीति, निर्माताबीच छलफल भएको थियो।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ महत्त्वपूर्ण कार्यक्रम रहेको बताए।