काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलताको सिधा मार सेयर बजारले खेपिरहेको छ। वित्तीय क्षेत्रमाथि निरन्तर आक्रमण, लगानीकर्ताहरूको मनोवलमा आएको गम्भीर गिरावट र आर्थिक गतिविधिको चर्को सुस्तताले पुँजी बजार गहिरो संकटमा फसेको छ।
पछिल्ला तीन कारोबार दिन बढेको नेप्से परिसूचक गएकाे बिहीवार १०.६६ अंक (०.४० प्रतिशत) घटेको थियाे। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २ हजार ६१५.०३ अंकमा झरेको हाे। नेप्से गत मंसिर २९ गते (गत सोमवार) ६.७४ अंक, मंगलवार १८.३७ अंक र बुधवार ५.७० अंकले बढेको थियो। यो पछिल्लो तीन महिनाको सबैभन्दा निराशाजनक प्रदर्शन हो। कारोबार रकम पनि २.८७ अर्ब रुपैयाँमा सीमित भयो, जुन केही महिनाअघि ७–८ अर्ब हुने गर्थ्यो। लगातार तीन हप्तादेखि बजार ओरालो लागेको छ र लगानीकर्ताहरूको पोर्टफोलियो घाटामा डुब्दै गइरहेको छ।
बाह्य सूचकको भ्रम
नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू हेर्दा सबै कुरा सामान्य देखिन्छ। विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ, जसले १७ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न सक्छ। मुद्रास्फीति नियन्त्रित छ। बैंकिङ क्षेत्रमा तरलता प्रशस्त छ—ठूला बैंकहरूमा सीडी रेसियो ७५ प्रतिशतभन्दा तल छ। तर यी चम्किला सूचकहरूले भित्री आर्थिक वास्तविकता प्रतिबिम्बित गर्न सकेका छैनन्। वास्तविक रूपमा व्यवसायीहरू त्रसित छन्। उद्योगहरू न्यून क्षमतामा चलिरहेका छन्। नयाँ लगानी आउन छाडेको छ। वास्तविक आर्थिक गतिविधि निरन्तर सुस्त भइरहेको छ। अहिले कागजमा सबै कुरा राम्रो देखिन्छन्। तर कारखानाहरू न्यून क्षमतामा चलेका छन्, पसलमा ग्राहक छैनन्, व्यवसायीहरू घाटा खेपिरहेका छन्। यो नै वास्तविकता हो।
पछिल्लो एक वर्षदेखि वित्तीय क्षेत्र कठोर नियामकीय दबाब, राजनीतिक हस्तक्षेप र सार्वजनिक आलोचनाको निशानामा छ। राष्ट्र बैंकले कडा निर्देशनहरू जारी गरिरहेको छ। नीतिहरू बारम्बार परिवर्तन हुने गरेका छन्। पूँजी कोष कायम राख्ने दबाब बढेको छ। खराब कर्जा व्यवस्थापनमा कडाइ भएको छ। बैंकहरूले ब्याजदर घटाउन दबाब खेपिरहेका छन्। तर जोखिम बढ्दै गएको अवस्थामा कसरी ब्याजदर घटाउने? आर्थिक गतिविधि सुस्त हुँदा गुणस्तरीय कर्जामा कसरी लगानी गर्ने? यी प्रश्नहरूको जवाफ नदिई बैंकहरूलाई दोष लगाउने प्रवृत्ति बढेको छ। "वित्तीय क्षेत्रमाथि निरन्तर आक्रमण भइरहेको छ। नियामकबाट दबाब छ, सरकारबाट दबाब छ, मिडियाबाट आलोचना छ। यस्तो वातावरणमा लगानीकर्ताहरू कसरी विश्वस्त हुन्?
आईतबार पनि हाल उही
साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ७० हजार ५७६ पटकको कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
व्यवसायीको मनोवल भत्किएको छ
नेपालको व्यवसायिक समुदाय गम्भीर निराशामा छ। नयाँ लगानी गर्न डराइरहेका छन्। भइरहेको लगानी कसरी निकालेर सुरक्षित स्थानमा लैजाने सोचमा मग्न छन्। धेरै उद्यमीहरू आफ्नो पैसा विदेश लैजाने योजनामा छन्। नयाँ कारखाना खोल्ने भन्दा पनि भइरहेको कारखाना बन्द गर्ने सोचमा छन्। बिजुली छ, कच्चा पदार्थ छ, श्रमिक छन्। तर माग छैन। बजार छैन। सरकारी खर्च छैन। त्यसोभए उत्पादन गरेर के गर्ने? यो मनोवल भत्केको अवस्थाले सेयर बजारमा सीधा असर पारेको छ। व्यवसायीहरू नै आफ्नो कम्पनीको भविष्यप्रति आशावादी छैनन् भने लगानीकर्ताहरू कसरी विश्वस्त हुन्?
नेपालको आर्थिक गतिविधिमा सरकारी खर्चको ठूलो भूमिका हुन्छ। तर हाल सरकारी खर्च निकै न्यून छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारले ३३ अर्ब ८७ करोड ४३ लाख पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ८.३ प्रतिशत हो । चालु आर्थिक वर्षमा पाँच महिनामा भएको पुँजीगत खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७ अर्ब रुपैयाँले कम हो। गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म सरकारले ४० अर्ब ८० करोड ६ लाख अर्थात् वार्षिक लक्ष्यको ११.५८ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा ३६ अर्ब ६ करोड अर्थात् वार्षिक लक्ष्यको ११.९४ प्रतिशत पुँजीगत खर्च भएको थियो। अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष सरकारले गरेको पुँजीगत खर्च कम हो। चालु आर्थिक वर्षमा सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको थियो ।
सरकारी आयोजनाहरू अघि बढेका छैनन्। निर्माण क्षेत्र ठप्प छ। सडक, पुल, भवन निर्माणको काम सुस्त छ। यसले सिमेन्ट, फलाम, इँटा जस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूलाई प्रत्यक्ष असर पारेको छ। कारखानाको ३५ प्रतिशत छ। सरकारी आयोजना नभएपछि माग नै छैन। यो न्यून क्षमता सञ्चालनले कम्पनीहरूको नाफामा सीधा असर पारेको छ। नाफा घट्दा लाभांश कम हुन्छ। लाभांश कम हुँदा सेयर मूल्य घट्छ। यो एक दुष्चक्र हो।
जलविद्युत् क्षेत्र, जुन सेयर बजारको एक प्रमुख स्तम्भ थियो, अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ। स्थानीय समुदाय र जेनजीको नाममा कानुनविपरीत निःशुल्क सेयर र करोडौं रुपैयाँको माग बढ्दै गएको छ।भोटेकोशी जलविद्युत् आयोजना ३२ दिनसम्म बन्द भयो। अन्य दर्जनौं आयोजनाहरू निर्माणमा अवरोध भोगिरहेका छन्। लगानीकर्ताहरू हैरान छन्। कानुन अनुसार सबै जिम्मेवारी पूरा गरेपनि थप माग आइरहेको छ।
१० प्रतिशत सेयर दिइसक्यौं, रोयल्टी बुझाइरहेका छन्। अब फेरि निःशुल्क सेयर माग्छन्। यो कहिलेसम्म? यस अनिश्चितताले जलविद्युत् सेयरहरूमा ठूलो दबाब सिर्जना गरेको छ।
पर्यटन क्षेत्रबाट ठूलो अपेक्षा गरिएको थियो। कोभिडपछि पर्यटक आगमन बढ्ने आशा थियो। तर अपेक्षा पूरा भएन। होटल, रिसोर्ट र एयरलाइन्स कम्पनीहरू घाटामा छन्। भवन बने, कर्मचारी राख्यौं, सबै तयारी गर्यौं, तर पर्यटक आएनन्। कोठा खाली छन्। घाटा खेपिरहेका छन्।
कारोबार रकम खुम्चिँदै
सेयर बजारको स्वास्थ्यको एक प्रमुख सूचक कारोबार रकम हो। गएको बिहीबार कुल कारोबार रकम २.८७ अर्ब रुपैयाँमा सीमित भयो। यो केही महिनाअघि ७–८ अर्ब हुने गर्थ्यो। यो ६० प्रतिशतभन्दा बढीको गिरावट हो।कारोबार घट्नुको अर्थ लगानीकर्ताहरू बजारबाट टाढिँदै गएका छन्। नयाँ लगानीकर्ता आइरहेका छैनन्। पुराना लगानीकर्ताहरू पनि निष्क्रिय छन्। धेरैले घाटा मात्रै व्यहोर्न नपरोस् भनेर होल्डिङमा बसेका छन्।
"बजारमा कुनै उत्साह छैन," एक ब्रोकर भन्छन्, "ग्राहकहरू फोन गर्दैनन्। कसैले सेयर किन्न चाहँदैन। सबै डरले बसेका छन्।"
सेयर बजार भावनामा चल्छ। तथ्य र तथ्यांकभन्दा पनि लगानीकर्ताको विश्वास र आशावादले बजारलाई चलाउँछ। अहिले त्यो विश्वास पूर्ण रूपमा भत्किएको छ। धेरै लगानीकर्ताहरूको पोर्टफोलियो २०–३० प्रतिशतसम्म घाटामा छ। जसले १० लाख लगानी गरेका थिए, अहिले त्यो ७–८ लाखमा झरेको छ। यो घाटाले उनीहरूको मनोवल तोडेको छ।
"म अहिले सेयर बजारको नाम पनि सुन्न चाहन्नँ," एक लगानीकर्ता भन्छन्, "मेरो ८ लाख डुब्यो। अब यसमा एक रुपैयाँ पनि थप्दिनँ।" यस्तो मनोविज्ञानले बजारमा नकारात्मक चक्र सिर्जना गर्छ। घाटा देखेका लगानीकर्ताहरू आफ्ना साथीहरूलाई सेयर बजारमा नजान सल्लाह दिन्छन्। नयाँ लगानीकर्ताहरू डराउँछन्। बजारमा नयाँ पैसा आउन बन्द हुन्छ। यसले बजारलाई अझ तल धकेल्छ।
नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव छ। बैंकहरूले आफ्नै क्षेत्रमा समस्या भोगिरहेका छन्। बीमा कम्पनीहरूसँग सीमित पुँजी छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता ठूला कोषहरू पनि सक्रिय छैनन्। "संस्थागत लगानीकर्ता नभए बजार स्थिर हुँदैन," एक बजार विश्लेषक भन्छन्, "व्यक्तिगत लगानीकर्ताहरू भावनामा चल्छन्। संस्थागत लगानीकर्ताहरू विश्लेषणमा चल्छन्। हामीसँग दोस्रो खालको लगानीकर्ता छैन।"
अर्थतन्त्र ठप्प भए बजार कसरी चल्ने?
मूल प्रश्न यही हो—अर्थतन्त्र ठप्प छ, व्यवसाय घाटामा छ, उत्पादन न्यून क्षमतामा छ, लगानी आइरहेको छैन। यस्तो अवस्थामा सेयर बजार मात्र कसरी चलायमान हुन्छ? "सेयर बजार अर्थतन्त्रको ऐना हो," एक अर्थशास्त्री भन्छन्, "अर्थतन्त्र नै बिरामी छ भने ऐनामा स्वस्थ तस्विर कसरी देखिन्छ?"
यो मूलभूत सत्य हो। सेयर बजार शून्यमा अवस्थित हुँदैन। यो वास्तविक अर्थतन्त्रको प्रतिबिम्ब हो। जब कम्पनीहरूले नाफा कमाउँछन्, जब अर्थतन्त्र बढ्छ, जब व्यवसायको भविष्य उज्ज्वल हुन्छ—त्यतिबेला मात्र सेयर बजार उकालो लाग्छ। अहिले यी कुनै पनि अवस्था छैन। कम्पनीहरूको नाफा घटिरहेको छ। अर्थतन्त्र सुस्त छ। भविष्य अन्धकारमय देखिन्छ। त्यसैले सेयर बजार पनि ओरालो लागिरहेको छ। यति ठूलो संकटमा सरकार के गरिरहेको छ? आर्थिक नीति स्पष्ट छैन। व्यवसायिक वातावरण सुधार्ने कुनै पहल छैन। सरकारी खर्च बढाउने कुनै प्रयास छैन।
नेपालको सेयर बजार गम्भीर संकटमा छ। यो केवल सेयर बजारको समस्या होइन, यो समग्र अर्थतन्त्रको समस्या हो। बाह्य सूचकहरू चम्किला देखिए पनि भित्री वास्तविकता अर्कै छ। व्यवसायीहरू त्रसित छन्। लगानीकर्ताहरू निराश छन्। सरकार निष्क्रिय छ। यो संयोजनले एउटा विषाक्त वातावरण सिर्जना गरेको छ। यो लामो समयदेखि निर्माण भइरहेको संकटको प्रतीक हो। यदि तत्काल कदम चालिएन भने यो संकट अझ गहिरिनेछ। सेयर बजार थप तल झर्नेछ। लगानीकर्ताहरू पूर्ण रूपमा निराश हुनेछन्। अर्थतन्त्रको शिथिलता अझ बढ्नेछ।