बागलुङ। पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिँदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन्। जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल पनि हुन्। १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्।
कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँ सरे पनि जग्गा जमिन र घर छाडेका छैनन्। किमबोट गाउँमा उहाँको ३२० बोट सुन्तला छन्। यसमध्ये २५० बोटले फल दिइरहेका छन्। सुन्तलाको स्याहार सुसारका लागि उहाँ हरेक हप्ता गाउँ पुग्छन्। कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो।
२०४७ मा ३५ हजार लगानी गरेर सुरु गरेको सुन्तला खेती अहिले फस्टाएको छ। हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ। २०४७ सालमा कँडेलले सुन्तला खेती सुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन। स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको सुरुआत गरेका थिए। उनीबाटै सिकेर उनले सुन्तला लगाएका हुन्। ६० वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।
गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको कँडेल बताउँछन्। वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनको भनाइ छ। बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको कँडेलको भनाइ छ। भएभरको सम्पत्ति गाउँमै रहेको जनाउँदै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको दाबी गरे।
‘औषधी पानी खाने अस्पतालको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए, हामी घर पायकपर्छ भनेर बागलुङ बजारमा आएको हो। यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु’, उनले भने, ‘म बजारमा बस्ने भन्ने मात्रै मेरो मन दिनहुँ गाउँमा हुन्छ। गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ।’
कोदो, मकै फल्ने बारीभरि सुन्तला
अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे। मकै र कोदो उत्पादन गर्दा वर्षभरि खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तर नै परिवर्तन भएको कँडेल बताउँछन्। सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापान, अमेरिका र पोर्चुगल रहेको उनको भनाइ छ।
सुन्तला खेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए। सुन्तला खेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको उनले जनाए।
बसाइँसराइ गरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उनले सुनाए।
जिल्लाकै बढी सुन्तला फलाउने लोकनाथ
उनी बागलुङमै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुन्। उनले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेका थिए भने यस वर्ष १५ लाखको बिक्री गरिसकेका छन्।
थप दुई लाखको परिवारले खानका लागि राखेको कँडेलले सुनाए। ३० बोटबाट खेती सुरु गरेको जनाउँदै हरेक वर्ष नयाँ बिरुवा थप्दै गएको उनको भनाइ छ।
हालसम्म करिब २५ लाख बढी लगानी गरिसकेको कँडेलले बताए। अहिले किमबोट गाउँमा सुन्तला खेती नगर्ने कोही पनि नभएको उनको भनाइ छ। पछिल्लो समय बिहुँ क्षेत्र सुन्तला गाउँका रुपमा पचिरित हुँदै गएको उनी बताउँछन्।
यस वर्ष चितवन र धादिङका व्यापारीले सुन्तला बगान खरिद गरिसकेको कँडेलले जानकारी दिए। सुन्तलाको दाना बढ्ने बेला असिना पर्दा केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको उनको भनाइ छ।–रासस