काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजनदेखि बाली वस्तुको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ। मन्त्रालयले कृषि उपज, बिउबिजन तथा बाली बस्तुहरूको बिक्री मूल्य निर्धारण गरेको हो।
मंसिर २८ को मन्त्रीस्तरीय निर्णयअनुसार बिउबिजनतर्फ धान, मकै, गहुँ र दलहन बालीको मूल्य निर्धारण गरिएको छ। बिउबिजनअन्तर्गत सबैभन्दा महँगो उन्नत जातको हाइब्रिड मकै बिउ रहेको छ। मकैको मूल्य प्रतिकेजी ३०० रुपैयाँ तोकिएको छ।
प्रमाणिततर्फको धान र मकैको बिउ भने सस्तो छ। मध्यम÷मोटा धानको बिउ र खुला मकैको बिउ प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ। त्यस्तै, बास्नादार धानको बिउको मूल्य प्रतिकिलो १०५ रुपैयाँ र प्रमाणित बिउको १०० रुपैयाँ तोकिएको छ।
यसैगरी मोटो धानको बिउ मूलतर्फ ७१ रुपैयाँ र प्रमाणिततर्फ ६५ रुपैयाँ कायम गरिएको छ। यस्तै, उन्नत जातको हाइब्रिड धानको बिउ प्रतिकेजी २०० रुपैयाँ तोकिएको छ। गहुँ बिउको मूल्य प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ भने प्रमाणितको ७५ रुपैयाँ तोकिएको छ।
मन्त्रालयका अनुसार दलहन र तेलहनतर्फको बिउबिजनको मूल्यसमेत निर्धारण गरिएको छ। मुसुरोको बिउ प्रतिकेजी १६० रुपैयाँ र तोरीको बिउ (मूल) १७० रुपैयाँ रुपैयाँ कायम गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।
त्यस्तै, प्रमाणिततर्फ मसुरो बिउ १४० रुपैयाँ र तोरीको बिउ १५० रुपैयाँ कायम गरिएको छ। हरियो मलको रूपमा प्रयोग गरिने ढैंचा बिउको मूल्य प्रतिकेजी १२० रुपैयाँ तोकिएको छ।
सरकारले बिउका लागि अयोग्य खाद्यान्नको मूल्यसमेत तोकेको छ। गहुँको मूल्य प्रतिकेजी ३८ रुपैयाँ ६७ पैसा, मोटा धानको मूल्य ३४ रुपैयाँ ६३ पैसा, मध्यम धानको मूल्य ३६ रुपैयाँ २८ पैसा, मसिनो धानको मूल्य ३६ रुपैयाँ २८ पैसा र मकैको मूल्य ३५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी मुसुरोको मूल्य प्रतिकेजी ९० रुपैयाँ, तोरी ८० रुपैयाँ, बिउ प्रशोधन गर्दा निस्कने टुक्रिएको धान १८ रुपैयाँ र टुक्रिएको गहुँको मूल्य २० रुपैयाँ तोकिएको छ।
मन्त्रालयले कृषि सह–उत्पादनअन्तर्गत धानको परालको मूल्यसमेत तोकेको छ। नयाँ मूल्यअनुसार धानको परालको मूल्य प्रतिकेजी २ रुपैयाँ तोकिएको छ।