काठमाडाैं। अर्बौ रुपैयाँको लगानीमा निर्माण भएको दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि होटल क्षेत्र चकाचक हुन्छ भन्ने अपेक्षा साथ अर्बौ रुपैयाँ लगानी गरेर निर्माण सम्पन्न गरेका तारे होटल अहिले सुनसान छ।
अहिले ती क्षेत्रमा सञ्चालनमा रहेका होटलका लगानीकर्ताहरु ऋणमा चुर्लुम्म डुबेका छन्। तर, सरकारले पूर्वधार निर्माणको बेला दिर्घकालिन सोच नराखेकै कारण राज्यको अर्बौ रुपैयाँ मात्र जोखिममा परेको छैन, बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका धेरै व्यवसायीहरु ऋणको बोझमा परिरहेको सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए।
निजी क्षेत्रको ठूलो पुँजी होटल र रिसोर्टमा खन्याइँदै, विश्वस्तरीय गन्तव्य बन्ने आकांक्षा–यी सबै आधार हुँदाहुँदै पनि नेपालको पर्यट0न व्यापार अपेक्षित गतिमा अघि बढ्न नसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै नेपालले पर्यटनको नयाँ युगमा प्रवेश गर्ने आशा गरिएको थियो। तर, विमानस्थल उद्घाटनपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा ती संरचना ‘शोकेस प्रोजेक्ट’ जस्तै बनेका छन्। विमानस्थलको सम्भावनालाई हेरेर निजी क्षेत्रले अर्बौ रुपैयाँ लगानी गरे पनि अपेक्षित पर्यटक नआउँदा व्यवसायिक प्रतिफल कमजोर बनेको छ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेलले पर्यटन कनेक्टिभिटीको मेरुदण्ड मानिने नेपाल वायुसेवा निगम नै कमजोर अवस्थामा रहनुले समस्या झनै जटिल बनाएको बताउँछन्।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेलले पर्यटन कनेक्टिभिटीको मेरुदण्ड मानिने नेपाल वायुसेवा निगम नै कमजोर अवस्थामा रहनुले समस्या झनै जटिल बनाएको बताउँछन्। राष्ट्रिय ध्वजावाहकले नयाँ गन्तव्यमा उडान विस्तार गर्न नसक्दा विदेशी एयरलाइन्स पनि अपेक्षित रूपमा आकर्षित हुन सकेका छैनन्। माथिल्लो लागत, सीमित बजार र नीतिगत अस्पष्टताले नेपाललाई प्राथमिक गन्तव्यभन्दा ‘सेकेन्ड च्वाइस’ बनाइरहेको पूर्वसदस्य पौडेलको भनाइ छ।
हवाई भाडा महँगो हुनु अर्को ठूलो अवरोध बनेको छ। टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नुले छिमेकी मुलुकसँग तुलना गर्दा नेपाल महँगो गन्तव्यका रूपमा देखिन थालेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले बताए।
‘पर्यटन प्रवद्र्धनको कुरा गर्दा भाडा संरचना पुनरावलोकन हुनुपर्ने भए पनि नीतिगत निर्णयमा ढिलाइ देखिएको छ’. अध्यक्ष थपलियाले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर भारत र चीनका बौद्ध तीर्थस्थलसँग जोडिने सर्किट विकास भए अन्तर्राष्ट्रिय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न सक्थ्यो। तर, अन्तर्राष्ट्रिय उडानको अभाव र कमजोर प्रचार–प्रसारले त्यो सम्भावना कागजमै सीमित देखिन्छ।’
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र
२०७९ पुसबाट औपचारिक रुपमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित उडान हुन सकेको छैन। पोखराबाट विभिन्न गन्तव्यमा उडान गर्ने भनेर प्रचार गरिए पनि हिमालयन एयरलाइन्सले चीनमा साताको एकपटक उडान बाहेक अन्य एयरलाइन्सले उडान गर्न सकेको छैन। बेलाबेलामा चार्टर्ड उडान मात्र सो विमानस्थलबाट हुँदै आएको छ।
यस्तै, २०७९ जेठबाट उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हालसम्म नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। नेपाल वायुसेवा निगम, जजिरा एयर, एयर एसिया लगाएतले केही समय नियमित उडान गरेपनि हाल नियमित हुन सकेको छैन।