काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिउबिजन, बालीवस्तु तथा कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। मन्त्रालयको २८ मंसिरको मन्त्रीस्तरीय निर्णयअनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीका लागि नयाँ दर स्वीकृत गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार बिउबिजनतर्फ उन्नत जातको हाइब्रिड मकैको बिउ सबैभन्दा महँगो प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको छ। हाइब्रिड धानको बिउको मूल्य प्रतिकिलो २ सय रुपैयाँ निर्धारण गरिएको छ।
प्रमाणित बिउतर्फ भने मूल्य केही सस्तो राखिएको छ। मध्यम–मोटा धानको बिउ र खुला मकैको बिउ दुवैको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ। बास्नादार धानको बिउको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ तोकिएको छ भने प्रमाणित बास्नादार धानको बिउ १ सय रुपैयाँमा उपलब्ध हुनेछ। मोटा–मध्यम धानको मूल बिउ ७१ रुपैयाँ र प्रमाणित बिउ ६५ रुपैयाँ निर्धारण गरिएको छ।
गहुँतर्फ मूल बिउको मूल्य प्रतिकिलो ८० रुपैयाँ र प्रमाणित बिउको मूल्य ७५ रुपैयाँ तोकिएको छ। दलहन र तेलहन बालीअन्तर्गत मुसुरोको मूल बिउ प्रतिकिलो १ सय ६० रुपैयाँ र तोरीको मूल बिउ १ सय ७० रुपैयाँ कायम गरिएको छ। प्रमाणित मुसुरो बिउ १ सय ४० रुपैयाँ र प्रमाणित तोरीको बिउ १ सय ५० रुपैयाँमा बिक्री हुनेछ। हरियो मलका रूपमा प्रयोग हुने ढैँचाको बिउको मूल्य भने प्रतिकिलो १ सय २० रुपैयाँ तोकिएको छ।
यसैगरी बिउका लागि अयोग्य ठहरिएका खाद्यान्नको मूल्य पनि सरकारले निर्धारण गरेको छ। गहुँको मूल्य प्रतिकिलो ३८ रुपैयाँ ६७ पैसा, मोटा धानको ३४ रुपैयाँ ६३ पैसा, मध्यम तथा मसिनो धानको ३६ रुपैयाँ २८ पैसा र मकैको मूल्य ३५ रुपैयाँ तोकिएको छ। मुसुरोको मूल्य प्रतिकिलो ९० रुपैयाँ र तोरीको ८० रुपैयाँ कायम गरिएको छ।
बिउ प्रशोधनका क्रममा निस्कने टुक्रिएको धानको मूल्य प्रतिकिलो १८ रुपैयाँ र टुक्रिएको गहुँको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ। कृषि सहउत्पादनअन्तर्गत धानको परालको मूल्य भने प्रतिकिलो २ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।